प्रहरीले भन्यो, 'टोपबहादुर रायमाझी हाम्रो सम्पर्कभन्दा बाहिर छन्'

प्रहरीले भन्यो, 'टोपबहादुर रायमाझी हाम्रो सम्पर्कभन्दा बाहिर छन्'

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका केही आरोपीलाई प्रहरीले अझै भेट्टाउन सकेको छैन। 

पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिबारे थप प्रमाण संकलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए। 

उनले पुर्जी जारी भएका एमाले सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताए।

यसअघि पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजबारे प्रहरीले कुनै जानकारी पाउन सकेको छैन ।

'अब १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको छ', परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रिजालले भने, 'अहिलेसम्म आठ जना पक्राउ गरी अनुसन्धान भइरहेको छ ।'

पक्राउ परेकामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन्।

जिल्ला प्रहरी परिसरले उनीहरूविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् ।

उनीहरूले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् ।

सुरुमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो ।

वैशाख २२, २०८० शुक्रबार १८:४६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।