सरकारको विज्ञापन नीतिप्रति आनको असहमति, आन्दोलन गर्ने चेतावनी

सरकारको विज्ञापन नीतिप्रति आनको असहमति, आन्दोलन गर्ने चेतावनी

काठमाडौंः सरकारको विज्ञापन नीतिप्रति नेपाल विज्ञापन संघ (आन) ले असहमति जनाएको छ ।

अध्यक्ष सोमप्रसाद धितालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको विज्ञापन क्षेत्रमा विकृति र विसंगति भएको जनाएको हो। 

सरकारले एकद्वार नीति तथा समानुपातिक विज्ञापनलाई ऐनअनुसार विज्ञापन नियमावलीमा समेट्ने बेहोराको निर्णय मन्त्रिपरिषदबाट गरेको भन्दै आनले विरोध जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ- ‘विज्ञापन क्षेत्रमा पनि केही विकृति/विसंगति छन् । यसको न्यूनीकरणका लागि विज्ञापन बोर्ड तथा एजेन्सीको पहलमा विज्ञापन आचारसंहिता-२०७९ पनि जारी भएको छ । यो आचारसंहिता लागू हुन नपाउँदै एकाएक कुनै पक्षको बहकाव, झुकाव तथा दबाबमा गैरजिम्मेवार ढंगबाट सरकारले एकद्वार नीति तथा समानुपातिक विज्ञापनलाई ऐनअनुसार विज्ञापन नियमावलीमा समेट्ने भन्ने बेहोराको क्याबिनेट निर्णय आएको छ । २०८० वैशाख २० गतेको यो निर्णयको आन घोर भर्त्सना गर्दछ।’ 

खुला बजार अर्थनीति, उपभोक्ताको वस्तु वा सेवाको छनोटको अधिकार र सार्वजनिक खरिद ऐनको प्रावधानविपरीत विज्ञापन नीति ल्याउन खोजिएको आनको आरोप छ। 

‘विज्ञापन चक्रको एक महत्वपूर्ण पक्ष भएकाले आन विज्ञापन क्षेत्रमा विद्यमान विसंगति हटाउने कार्यका लागि सरकार तथा सम्बन्धित मन्त्रालयबाट लिइने कुनै पनि कदममा हातेमालो गर्न तयार छ । तर, समानुपातिक एकद्वारका नाममा सरकारबाट विज्ञापन बोर्डमार्फत हुने कुनै पनि गतिविधि हामीलाई स्वीकार्य छैन ।'

यो निर्णय तत्काल फिर्ता लिन सरकारसँग आनले आग्रह गरेको छ। 'अन्यथा आन विरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने जानकारी यसै विज्ञप्तिमार्फत गराउन चाहन्छ,’ आनले भनेको छ। 

 

वैशाख २२, २०८० शुक्रबार १७:०६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।