म्याग्दीका कैदीबन्दीले बनाएका मुढा चीन निकासी, बनाउन भ्याइनभ्याई

म्याग्दीः जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ ।
चीनबाट माग आएपछि कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याइनभ्याई भएको छ । म्याग्दी कारागारका चौकीदार वसन्त रोकाले पहिलो चरणमा आठ सय २० वटा मुढा चीन पठाइएको जानकारी दिए।
'एक महिनाअघि एक हजार ६ सयवटा मुढाको माग आएको थियो', उनले भने, 'आठ सय २० वटा पठाइसक्यौँ । बाँकी मुढा बनाउन व्यस्त छौँ ।' कारागारमा रहेका कैदीबन्दीले समय बिताउन मुढा बनाउँदै आएका छन् ।
प्रतिगोटा मुढा चार सय ५० रुपैयाँका दरले कारागारबाटै बिक्री भएको हो । खुद्रा प्रतिगोटा ५ सय रुपैयाँका दरले बेच्ने गरेका छन् । बाँस र पलास्टिकको रसी किनेर उनीहरूले बुढा बनाउने गरेका छन् । कारागार प्रशासनले समन्वय गरेर मुढा बुन्न आवश्यक पर्ने बाँस र पलास्टिकको रसी व्यवस्थापन गरेको कारागारका प्रहरी प्रमुख क्षेत्रबहादुर बरुवालले बताए।
बेनी नगरपालिका-२ खबरामा रहेको कारागारमा ८० पुरुष र तीन महिला कैदीबन्दी छन् । यो कारागार सात महिलासहित ३२ जना क्षमताको हो । कारागारमा भएका ६० जनाले मुढा बुन्ने गरेका चौकीदार रोकाले बताए। यसअघि मुढाले बजार नपाउँदा बुन्न छाडेका थिए ।
एक मुढा बुन्न बढीमा दुई दिन लाग्ने गरेको छ । छिटो बुन्नेले एकै दिनमा पनि तयार पार्छन् । ग्राहकको मागअनुसार आकार र डिजाइनको मुढा बनाउने गर्छन् । मुढा व्यापारी सन्तोष अधिकारीले रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन भएपछि चीनबाट मुढाको माग आएको बताए।
'म्याग्दीका साथै बागलुङ, भीमफेदी र पूर्वी नेपालका कारागारका कैदीबन्दीले बुनेका मुढा संकलन गरेर चीन पठाउन थालिएको छ', उनले भने, 'कैदीबन्दीले तयार पारेपछि थप मुढा पठाउने तयारी छ ।' उनका अनुसार चीनमा खेतबारीमा गोडमेल गर्न, सडक सफा गर्ने र बस्नका लागि मुढाको प्रयोग हुन्छ ।
बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ । चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट माग धेरै आउने गरेको छ । चिनियाँले चाडपर्वको समयमा पाहुनालाई मुढा तथा हस्तकलाका सामग्री उपहार दिने चलन छ ।
निर्यात रोकिँदा र आन्तरिक बजार नहुँदा कैदीबन्दीका उत्पादन कारागारमै थन्काएर राख्नुपरेको थियो । निर्यात खुलेपछि चीनबाट माग आउन थालेपछि कैदीबन्दी उत्साहित भएका छन् । कारागारमा उद्योग तथा पर्यटन कार्यालयलगायत विभिन्न निकाय र संघसंस्थाले कैदीबन्दीलाई मुढा बुन्ने सीपमूलक तालिम दिएका थिए ।
वैशाख २२, २०८० शुक्रबार १४:४८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।