सरकारको प्राथमिकता सामाजिक न्याय र सुशासन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन्।
किराँतहरूको पर्व उँभौलीको अवसरमा शुभकामना दिंदै उनले संविधानमा सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारको संवैधानिक व्यवस्था रहेकाले सोही व्यवस्था रहेको बताए।
कृषि युगमा प्रवेश गरे पश्चात् प्रचलनमा आएको उँभौली पर्व नेपालजस्तो कृषिप्रधान मुलुकका लागि थप प्रेरणादायी र सन्देशमूलक रहेको उनले उल्लेख गरे।
‘ऐतिहासिक कालदेखि आफ्नो जीवन वृत्तिका क्रममा विभिन्न जाति र समुदायले हासिल गरेका अनुभव र प्राप्त ज्ञानको शृङ्खला नै सभ्यता र संस्कृतिको स्रोत पनि हो। यस अर्थमा नेपालका विभिन्न जातिले मनाउने पर्व हाम्रा ऐतिहासिक गौरव गाथा र प्रेरणाका स्रोत हुन्,’ उनले भने।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त स्वाधीन र समुन्नत मुलुक रहेको जनाउँदै प्रधानमन्त्री दाहालले नेपाली चाडपर्व, भेषभूषा, संस्कार–संस्कृतिहरू राष्ट्रिय एकताका सेतुमात्र नभएर समुन्नत नेपाल निर्माणका आधारशिला समेत रहेको बताए।
वैशाख २२, २०८० शुक्रबार १०:३५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।