विश्व शान्तिका अग्रदूत गौतम बुद्धको आज २५६७ औं जयन्ती

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको आज २५६७ औं जयन्ती

काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। विश्व शान्तिका दूत गौतम बुद्धको २५६७ औं जयन्ती विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिन्छ। शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान गौतम बुद्धलाई विश्वभर चिनिन्छ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्छन्।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्म गुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।

आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ। हिन्दु धर्मावलम्बीले भने बुद्धलाई भगवान विष्णुको नवौं अवतारका रुपमा पुज्ने गर्ने गर्छन्।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता, राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।

राजकुमारका रुपमा जन्म लिए पनि सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्दै २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए। दरबार त्यागेर निस्केपछि नै उहाँले बुद्धत्व प्राप्त गरे।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरेका थिए। बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्धको नामले पुज्न थालिएको हो।

वैशाख २२, २०८० शुक्रबार ०७:५१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।