बुद्धको दर्शनले अहिंसा र शान्तिको बाटो देखाएको छ : प्रचण्ड

बुद्धको दर्शनले अहिंसा र शान्तिको बाटो देखाएको छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्धको दर्शन र विचारले अहिंसा, सद्‌भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएको  बताएका छन्।

२५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिंदै उनले पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व रहेको बताएका हुन्।

प्रचण्डले भने, ‘बुद्धको दर्शन र विचारले अहिंसा, सद्‌भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन्।’

बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्ध क्षेत्रहरूको प्रवर्द्धन र विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि उनले उल्लेख गरे।

‘आजभन्दा २५६७ वर्ष पहिला नेपालको लुम्बिनीमा जन्मिनुभएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्व भरि नै अद्वितीय रहिआएको छ। बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुवै हुनुहुन्थ्यो। वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर उहाँले भिक्षु संघको परिकल्पना र अभ्यास दुवै गर्नुभयो,’ उनले भने।

‘दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा उहाँको योगदान विश्वव्यापी रूपमा सर्वमान्य छ। तसर्थ, पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व हुनुभयो,’ उनले थपे।

नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृह त्याग गरी कठोर परिश्रमबाट बोधी ज्ञान प्राप्त गरेको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए।

आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्‌भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जादे उनले उल्लेख गरे।

वैशाख २२, २०८० शुक्रबार ०७:२९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।