पद सम्हाल्दै स्वास्थ्यमन्त्री बस्नेतले उठाए स्वास्थ्य सामाग्री खरिद अनियमितताबारे प्रश्न

काठमाडौँ : नवनियुक्त स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपकरणको खरिद प्रणालीप्रति प्रश्न उठाउँदै एक साताभित्र कुन सामान कहाँ छन् भनेर खोज्न निर्देशन दिएका छन्।
राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथपछि मन्त्रालयमा कार्यभार सुरु गर्दै उनले स्वास्थ्य सामग्रीको खरिदप्रति प्रश्न उठाएका हुन्। उनले खरिद गरेका सामाग्री कहाँ-कहाँ छन् भनेर एक साताभित्र खोजी गर्न निर्देशन दिएका हुन्।
उनले विभिन्न किसिमका रोगहरू बढेको अवस्थामा स्वास्थ्य उपकरण खरिद गर्नुपर्ने अवस्था आए पनि किनेका कतिपय सामान ल्याएर थन्काएर खिया लागिसकेको अवस्थामा रहेको बताए।
'कहाँ-कहाँ सामान छ हेरौँ। भएका प्रयोग गरौँ। लिनु नपर्ने भए नलिऊँ' उनले भने।
उनले न्यून आयस्रोत भएको वर्गको पक्षमा काम गर्न र कार्य योजना बनाउन निर्देशन दिए। उनले राष्ट्रिय योजना आयोगले पठाएको सिलिङमा ४० प्रतिशत बजेट कटौती भएर आएको जानकारीमा आएको बताए।
'सबैभन्दा पहिला स्वास्थ्यमा हान्नुपर्ने त थिएन। शिक्षामा हान्नुपर्ने त थिएन। पहिलो प्राथमिकता ज्यान हो कि विकास। सम्बन्धित ठाउँमा कुरा गर्न जान म नेतृत्व गर्नेछु। तपाईँहरू तयारी गर्नुस्' उनले भने।
वैशाख २१, २०८० बिहीबार १७:३६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।