जनयुद्धमा होमिएका माओवादी नेताका सन्तानको धनयुद्ध यात्रा

जनयुद्धमा होमिएका माओवादी नेताका सन्तानको धनयुद्ध यात्रा

काठमाडौंः रामबहादुर थापा बादल गृहमन्त्री हुँदा गृह प्रशासनमा उनका छोरा प्रतीकको सक्रियता एकाएक बढ्यो। उनी प्रायः गृह मन्त्रालयमै हुन्थे। 

मन्त्रालयमा उनले आफ्नै सचिवालयजस्तै टिम बनाएका थिए, जसले उनका लागि काम गर्थ्यो। 

भेटघाटका लागि बोलाएकाहरूलाई भेट्न उनी गृहमन्त्रीकै भेटघाट कक्ष मात्रै होइन, गृहमन्त्रीकै कुर्सी प्रयोग गर्थे। गृहमन्त्रीकै रूपमा व्यवहार गर्थे। 

तर बादल छोरालाई उति रुचाउँदैनथे। छोराको गतिविधिबारे जानकारहरूका अनुसार बादल मन्त्रालयमा नभएको मौका पारेर उनी सक्रिय हुन्थे। जब बादल मन्त्रालयमा आउँथे, अनि उनी बाहिरिन्थे। अहिले उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिए।

उनी मात्र हैन प्रभावशालि माओवादीका नेताहरूका छोराहरू समूह नै बनाएर सक्रिय रूपमा ठगी धन्दामा देखिइरहेका छन्।

ठमेल अनि दरबारमार्गका लाउन्जहरूमा प्रायः उनीहरू सँगै भेटिन्छन्। अधिकांश गृहमन्त्री बनेकाहरूका सन्तान आउने भएकाले उनीहरूको सेवामा कुनै न कुनै प्रहरी अधिकृत हुन्छन् नै। 

समूहको संयोजकको भुमिकामा हुन्छन् निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश। माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा सक्रिय भएकाले अन्यले उनलाई सम्मान पनि गर्छन्।उनी अहिले महासचिव छन्। 

समूहमा कृष्णबहादुर महराका छोरा राहुल र निर्मल, बादलका छोरा प्रतीक बढी सक्रिय देखिन्थे। 

नक्कली भुटानी शरणार्थी खडा गरी ठगी प्रकरणमा परेका टोपबहादुर रायमाझीका छोरा सन्दीप समूहमा त्यति सक्रिय थिएनन्। 

सरकारमा सहभागी माओवादी मन्त्रीका सन्तानलाई संगठित गर्ने र पावर ब्रोकरको काम गर्न दीपेश नै सक्रिय देखिन्छन्। उनको उठबस र आर्थिक सहकार्यले उनको संलग्नता कस्तो समूहसँग छ भन्ने पुष्टिका लागि पर्याप्त छ।

प्रहरी सरुवामा चासो त सामान्य नै भयो पुनको। अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिन गरेको संवादको अडियो फुत्काउन पुन सक्रिय देखिएका थिए।

मलेसिया जाने कामदारको पासपोर्ट संकलन गरेर भिसा लगाउने संस्था भीएलएन र स्वास्थ्य परीक्षण गर्ने संस्था बायोमेट्रिकको विवादमा पुनको सक्रियता खुलेको थियो। 

दुवै संस्थाले गैह्रकानुनी रूपमा काम गरेको भनेर श्रम मन्त्रालयको निर्देशनमा प्रहरी कारबाही प्रक्रियामा लागेको थियो। मुद्दा पनि चल्यो।

भीएलएनका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले ठगी अभियोगमा पक्राउ गरेपछि श्रम मन्त्रालयले मलेसियामा श्रमिक पठाउन रोक लगाएको थियो।

‘भीएलएन’ र ‘बायोमेट्रिक’को काम लिन दीपेश बिचौलिया बनेर सक्रिय भएको खुल्यो। आफूलाई कमिशन आउने गरी मिलाउन बिचौलियाका रुपमा खडा भए । 

मलेसिया गएर सरकारी अधिकारीहरूसँग दीपेशले छलफल मात्र गरेनन् मलेसियाका श्रम बजारका दलाल हनिफलाई नेपाल ल्याएर भेटघाट गराएका थिए। 

ललितपुरको गोदावरी नगरपालिका-८ डुकुछापमा रहेको अवैध ‘साइनिङ बालुवा वासिङ सेन्टर’ सञ्चालक, बचतकर्ताको रकम फिर्ता नदिएर हैरान बनाउने सुप्रिम सहकारीको लगानीकर्ता पुन रहेको खुलिसकेको विषय हो। 

प्रधानमन्त्रीहुँदा पनि बाबुराम भट्टराईको छोरी मानुषी विवादमा आइनन्। तर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीहुँदा कहिले छोरा त कहिले छोरी आर्थिक मामिलामा जोडिए नै।

पुष्पकमल दाहालको छोरा प्रकाश बाँचुन्जेल पावर ब्रोकरमा नाम जोडाइरह्यो। उनको मृत्युपछि प्रचण्डकी छोरी गंगा दाहालको नाम जोडिने गरेको छ। गंगा बाबु प्रचण्डको सचिवालयमा छिन्।

अर्की छोरी रेनु दाहाल भरतपुरकी मेयर छिन्। उनी प्रत्यक्ष राजनीतिमा नआउँदा पनि विचौलियामा नाम जोडिएन।

नक्कली शरणार्थीमा पनि दीपेश कनेक्सन होला ?

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको घटनामा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसक्यो। यसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ नै परिसका छन्। 

बालकृष्ण खाँण गृहमन्त्री हुँदा गृहसचिव भएका टेकनारायण पाण्डे पनि पक्राउ परेका छन्।

टोपबहादुर र उनका छोरा सन्दीप पनि यसमा जोडिइसकेका छन्। सन्दीप पक्राउ नै परिसके। टोपबहादुर आधिकारिक रूपमा प्रहरी नियन्त्रणमा आइसकेका छैनन्।

यो प्रकरणमा प्रतीकबाहेक दीपेशलगायत उनका समूहका अन्य सदस्यबारे सूचना रहेको तर पक्राउ पुर्जी नै जारी गराउन सक्ने प्रमाण फेला नपरेको अनुसन्धान स्रोत बताउँछ।

'इन्द्रजित र प्रतीकबारे पहिला पक्राउ परेकाहरूको बयानबाट खुलेको हो। प्रतीक र सन्दीपको बयानबाट थप व्यक्तिहरू खुल्न सक्छन्। केही सूचना त आएको छ तर पक्राउ गर्न ती सूचनाले पुग्दैन', अनुसन्धान स्रोतले भन्यो। 

स्रोतका अनुसार अहिलेसम्म पक्राउ परेकाहरूको पहिलो आधार भुटानी शरणार्थीको रूपमा अमेरिका पठाउने भन्दै पैसा लिने समूहका सदस्य हुन्। 

गृहको अनुसूचीमा ८७५ जना नक्कली शरणार्थीको नाम थप्न संलग्न रहेको आरोपमा केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परे।

उनीहरूको बयान र आर्थिक लेनदेन भएको प्रमाणको आधारमा राई र पाण्डे पक्राउ परेका हुन्। जोजोविरुद्ध पक्राउ आदेश जारी भयो उनीहरूसँग गिरोहको आर्थिक कारोबार भएको प्रमाणका आधारमा आदेश जारी भएको हो।

छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नामसमेत पोलिएको छ। 

'पोलिएका नाम त टन्नै छन्। तर प्रमाण नखुली पोलेकै आधारमा पक्राउ सम्भव हुन्न। तर छानबिन जारी रहन्छ' एक अधिकृतले भने।

वैशाख २१, २०८० बिहीबार १५:२१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।