रामबहादुर थापाका 'फरार' छोराको विज्ञप्तिको भाषाः हामीले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्दा...

रामबहादुर थापाका 'फरार' छोराको विज्ञप्तिको भाषाः हामीले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्दा...

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। 

जिल्ला अदालत काठमाडौंले थापाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाएको र उनीहरूबाट करौडौं रुपैया उठाएको उनीमाथि आरोप छ। 

प्रहरीको खोजीमा रहेका उनले भने प्रेस विज्ञप्ति जारी गर्दै चोखिन खोजेका छन्। प्रहरीको नजरमा फरार रहेका थापाले आज एक विज्ञप्ति जारी गर्दै आफूमाथि झूटो आरोप लगाउन खोजेको भन्दै बताएका छन्। 

उनले लेखेका छन्, 'लामो समयदेखि केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ मविरुद्ध तथ्यहीन प्रचार गरिरहेका थिए र छन् । तर, पनि मिडियामा आएका झुटा प्रचारमा प्रतिक्रिया दिन मेरो व्यक्तिगत रुचि रहेन । ​​​​​​​मविरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार र आरोपहरु लगाउने क्रम जारी छ । '

'राजनीतिक प्रतिशोधजस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो ? भन्ने कुरा बुझ्न जरुरी छ,' उनले आफैं सरकारमा रहेजस्तो भाषाशैलीमा लेखेका छन्, 'हामीले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौं। जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं। त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन।'

आफ्नो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित आफ्नो नाम जोडिएकोप्रति उनले खेद प्रकट गर्दै  लेखेका छन्, 'संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

वैशाख २१, २०८० बिहीबार १२:४६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।