पूर्वमन्त्री बादलका छोरा प्रतीक भन्छन्, 'झुटो आरोप लगाइयो, अनुसन्धानलाई इमानदारीसाथ सघाउँछु'

नक्कणी भुटानी शरणार्थी खडा गरेर ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा बादलका पुत्र प्रतीक थापाले घटना अनुसन्धानमा इमानदारीपूर्वक सहयोग गर्ने बताएका छन्।
थापाले यस भुटानी प्रकरणमा आफ्नो संलग्नता नरहेको भन्दै झूटो आरोप लगाइएको भन्दै खेद प्रकटसमेत गरेका छन्। नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा उनीविरुद्ध पनि बुधबार पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधवार थापाविरुद्ध पुर्जी जारी गरेको हो।
एक विज्ञप्ति जारी गर्दै थापाले लेखेका छन् ‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दुछु । तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
मंगलवार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोही प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो।
इन्द्रजितका छोरा निरज राईविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार रहेका छन्। उनको बयान र यसअघि समातिएकाको बयानको आधारमा अरू थप व्यक्तिहरू पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ।
यसै प्रकरणमा बुधबार प्रहरीले पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारेको थियो। सन्दीप भने पक्राउ परेका छन् भने टोपबहादुर अझै फरार रहेका छन्।
वैशाख २१, २०८० बिहीबार १२:२६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।