अब ठमेलभित्रका गल्ली सीसी क्यामराको निगरानीमा

अब ठमेलभित्रका गल्ली सीसी क्यामराको निगरानीमा
फाइल तस्वीर

काठमाडौँः संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सीसी क्यामरा जडान गरिने भएको छ ।

काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सीसी क्यामरा जडान गर्न लागेको हो । 

ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे काठमाडौँ महानगरपालिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल तथा ठमेल पर्यटन विकास परिषद्को टोलीले आज स्थलगत अवलोकनसमेत गरेको छ । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले काठमाडौँ महानगरपालिकाको सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागिएको जानकारी दिए।

'ठमेलभित्रका कुन चोक तथा सडकमा सिसी क्यामरा आवश्यक छ भन्नेबारे आज काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र ठमेल पर्यटन विकास परिषद्को टोलीले पाँच घन्टा लगाएर स्थलगत अवलोकन गरेको छ, चाँडै नै ठमेलभित्र सिसी क्यामरा जडान हुन्छ', उनले भने। 

नेपालभित्र घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउँछन् । ठमेलभित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउन सीसी क्यामरा जडान गर्न लागिएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धितालले ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे स्थलगत अवलोकन भएको बताए।

ठमेलभित्रका सडकमा एक सयभन्दा बढी सीसी क्यामरा जडान गरिने उनको भनाइ छ ।

काठमाडौँभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई ६ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त रकमबाट सीसी क्यामरा खरिद गरी काठमाडौँभित्रका सीसी क्यामरा आवश्यक पर्ने स्थानमा जडान गरिनेछ ।

काठमाडौँ महानगरपालिका वडा नं १६, १७, २६ र २७ वडामा पर्ने ठमेलभित्र झण्डै तीन हजार घरधनी तथा व्यवसायी आबद्ध छन् ।

वैशाख २०, २०८० बुधबार २०:४५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।