भुटानी शरणार्थी प्रकरणः प्रकाउ परेका तत्कालीन गृहसचिव पाण्डेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

नक्कली भुटानी शरणार्थी खडा गरेर आर्थिक लाभ लिएको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा बुधबार दिउँसो पाण्डे पक्राउ परेका थिए।
उनमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय पाएको छ।
पाण्डेमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति माग्ने प्रहरीको तयारी थियो। जिल्ला अदालतले प्रहरीलाई सचिव पाण्डेमाथि अनुसन्धान गर्न पहिलोपटक म्याद दिएको हो।
पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव रहेका टेक नारायण पाण्डेले बुधवार प्रहरी कार्यालयमा गएर सरेन्डर गरे। भुटानी शरणार्थीको नक्कली सूची बनाएर ठगी चल्दा उनी गृहमा थिए।
पाण्डे बालकृष्ण खाँणको पालामा गृहसचिव भएका थिए।
तत्कालीन ऊर्जामन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझी समेत सो गिरोहसँग जोडिएका छन्। उनका छोरा सन्दीप पनि संलग्न देखिएपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गराएको छ।
उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले यो प्रकरणबारे अनुसन्धान गरिरहेको छ।
शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गृहको प्रतिवेदनमा ८ सय ७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाएको आरोपमा केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ पक्राउ परिसकेका छन्।
वैशाख २०, २०८० बुधबार १६:५७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।