हिउँपहिरोमा परेका पाँच जना अझै बेपत्ता, उद्धार गरिएका सात जना लिएर फर्कियो सशस्त्रको टोली

काठमाडौं : दार्चुलाको ब्याँस गाउँपालिका–१, बोलिनमा मंगलबार २ः४५ बजेतिर गएको हिमपहिरोमा परेर बेपत्ताको खोजी गर्न गएको सशस्त्र प्रहरी बलको ३० जनाको टोली छाङरु फर्किएको छ।
दिउँसोदेखि बेपत्ता १२ मध्ये ७ जनाको सशस्त्र प्रहरी बलको छाङ्रुस्थित गुल्म नम्बर ५० जनाले उद्दार गरेको छ।
तर, हिमपात जारी रहेका बेला अध्याँरो समेत भएपछि खोजीमा गएको टोली केहिवेरअघि फर्किएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए। उनका अनुसार बुधबार बिहानैबाट फेरि खोजी तथा उद्दार कार्य सुरु हुनेछ।
सशस्त्र प्रहरीका अनुसार १२ जना नै यार्सागुम्बा खोज्न बोलिनतिर गएका थिए। घटना भएको स्थान सशस्त्र प्रहरीको छाङ्रु गुल्मबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्छ।
हिउँपहिरोमा परेका १२ मध्ये ४ महिला १ पुरुष गरि ५ जना अझै बेपत्ता छन्।
वैशाख १९, २०८० मंगलबार २२:४०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।