छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय

छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय

काठमाडौँः काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भुइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् । 

विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन् ।  

पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भनेर पुस्तकलाई कार्टुनमा प्याकिङ गर्ने र तर्काएर राख्न थालिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहतको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको सो भवनको छानो मर्मतका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको छ । मर्मत चाँडै सम्पन्न नभए आगामी असार–साउनमा पुस्तकालय वर्षाका कारण प्रभावित हुनसक्ने देखिएको छ ।

पुस्तकालयका पुस्तकालय व्यवस्थापक जुजुभाइ डङ्गोलले हरेक वर्षाका समयमा यस्तै विजोग हुने गरेको र पछिल्लो वर्षाले के कति पुस्तकमा क्षति भयो भन्ने विवरण तयार भइनसकेको उहाँले बताउनुभयो ।

अहिले पानीले भिजेका पुस्तकबाट पानी तैर्याएर (सुकाएर) पुनः पढ्न मिल्ने र नमिल्ने गरी वर्गीकरण गरिने उनको भनाइ छ । 

उहाँले बजेट कार्यान्वयनका लागि परिषद्बाट सहमति प्राप्त भएकाले छिट्टै छानो फेर्ने काम अघि बढ्ने जानकारी दिए। वर्षाका कारण पुस्तकालयमा जाने आउने बाटोसमेत हिलाम्मे भएको छ । 

पुस्तकालयमा विभिन्न विधाका गरी करिब ८० हजार पुस्तक र दुई हजार चार सयभन्दा बढी सदस्य छन् । पुस्तकालयमा दैनिक एक सय ५० जना अध्ययनकर्ता आउने गरेका छन् । 

विसं २०६० मा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्काको नेतृत्वमा २१औँ शताब्दीको आवाश्यकतानुकूलको पुस्तकालय स्थापना भएको थियो ।

पुस्तकालयले हाल राष्ट्रिय सभागृहको एउटा कोठाबाट स्थापित समाजले विद्युतीय पुस्तकालय सेवाका साथै पुस्तकालय विज्ञान र व्यवस्थापनबारे तीन महिने व्यावसायिक कोर्समा आधारित तालिम पनि सञ्चालन गर्दै आएको छ । 

पुस्तकालय व्यवस्थापन र तालिमका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयबाट चालु आवमा रु ५० लाख बजेट विनियोजन भएको थियो ।

पुस्तकालयमा प्राज्ञिक व्यक्ति, कूटनीतिज्ञ, राजनीतिककर्मी, कानुन व्यावसायी, उद्यमी, सामाजिक कार्यकर्ता र पत्रकारसमेत आवद्ध छन् । 

वैशाख १९, २०८० मंगलबार १६:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।