चार घण्टापछि खुल्यो स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग

चार घण्टापछि खुल्यो स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग

काठमाडौं : काभ्रेको बनेपा नगरपालिका–१३ भैंसेपाटीमा आज बिहान मोटरसाइकलले ठक्कर दिएर एक जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग चार घण्टापछि नियमित भएको छ।

बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीका स्थानीय अन्दाजी ६० वर्षीय बालकृष्ण बुढाथोकीको आज मृत्यु भएको थियो।

यसपछि आक्रोशित स्थानीयले बिहान ४ बजेदेखि सडक अवरुद्ध गराएकोमा हाल सडक खुलेको हो।

सडक अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक रुपमा सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट सञ्चालन गरेर सडक खुलाउने प्रयास गरेको थियो। 

अहिले सडक पूर्ण रुपमा सञ्चालन भएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताएका छन्।

वैशाख १९, २०८० मंगलबार १३:४३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।