सरकारमा जाने हतारोमा रवि, साथ नपाएपछि बोलाए सांसदसहितको बैठक

सरकारमा जाने हतारोमा रवि, साथ नपाएपछि बोलाए सांसदसहितको बैठक

काठमाडौँ : सरकारमा गएको कामकै कारण उपनिर्वाचनमा जित्न सकेको दाबी गर्दै रवि लामिछानेले सरकारमा सहभागी हुनुपर्ने मनसाय राखेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको सोमबारको बैठकमा उनले उपनिर्वाचनको जितलाई सरकारमा रहँदा गरेको कामको प्रभावको रूपमा  अर्थ्याए। 

तर रास्वपावाट सरकारमा सहभागी भएकामध्ये शिशिर खनालबाहेक सबै आलोचित भएका थिए।

उपप्रधानमन्त्री सहित गृहमन्त्री बनेका रविको कार्यकाल नागरिकता विवादमै सकियो। नागरिकता निष्क्रिय नै रहेको सर्वोच्च अदालतको फैसलासँगै उनको मन्त्रीसँगै सांसद पद पनि गयो।

स्वार्थको द्वन्द्व हुने मन्त्रालय लिएको, प्रहरी महानिरीक्षकसँग गरेको फोनको कुराकानी लाइभ गर्ने लगायतका उनका गतिविधिको आलोचना भएको थियो।

गृहमन्त्रीकै कार्यकालमा उनले खरिद कानुन विपरीत निजी कम्पनीलाई राष्ट्रिय परिचय पत्र प्रमाणीकरणको ठेक्का स्वीकृत गरेको सार्वजनिक भएको थियो।

उता श्रममन्त्री बने लगत्तै डिपी अर्याल पनि विवादमा आए। एक म्यानपावर एजेन्सीमा उनको संलग्नता खुलेपछि स्वार्थ बाझिने मन्त्रालयमा गएको भन्दै उनी आलोचित भएका थिए।

शिक्षामन्त्री भएका शिशिर खनाल विवादमा तानिएनन्। टिच फर नेपालसँगको उनको सम्बन्धबारे चर्चा भने भएको थियो। स्वास्थ्य राज्यमन्त्री बनेकी तोसिमा कार्की मन्त्रीसँग एकै कार्यक्रममा गएर रिबन काटेको घटनादेखि जलन पीडितसँग भेट्न युट्युबरका हुल लिएर आइसीयुमा गएको घटनाले आलोचित भएकी थिइन्।

बैठकमा रविले भने सरकारमा जाँदा मतदातामा सकारात्मक प्रभाव परेको ब्रिफिङ गरिरहे।

उनले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँगको भेटमा पार्टीले लिएकै पुराना मन्त्रालय दिन सकारात्मक रहेको दाबी समेत गरेका थिए जुन दाबी प्रचण्डले चितवनमा खण्डन गरे।

महामन्त्री मुकुल ढकालले रविलाई साथ दिँदै सरकारमा जाँदा राम्रो हुने धारणा राखे। उपसभापति डिपी पक्ष वा विपक्षमा खुलेनन्। बैठकमा सरकारमा सहभागिताबारे एक मत नभएपछि निर्णय भएन।

केही केन्द्रीय सदस्यहरूले प्रतिपक्षमै बसेर पनि जनताको काम गर्न सकिने मत राखेका थिए। पार्टीमा फरक मत आएपछि उनले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट सरकारमा सहभागी हुनेबारे निर्णय गर्ने भनेपछि बैठक सकियो।

बैठकले विभिन्न विभाग प्रमुख नियुक्त गर्ने निर्णयसमेत गरेको थियो।

बैठकपछि प्रवक्ता तथा महामन्त्री ढकालले अब पार्टी कि त प्रतिपक्षमा कि त सरकारमा जाने तर अहिलेको जस्तो सत्तापक्षमै बसिरहने निर्णय नगर्ने बताए।

पार्टी सरकारमा जाने या प्रतिपक्षमा बस्नेबारे निर्णय गर्न पार्टीले वैशाख २२ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाउने बताए।

वैशाख १८, २०८० सोमबार २३:०४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।