निरा हत्यामा प्रहरीले खुलाएको चार प्रमाण, तर अझै फेला परेन मुख्य प्रमाण

काठमाडौं : निरा पाण्डे आचार्यको हत्याका आरोपी विनोद विक पक्राउ परेसँगै परिवारले शव बुझेर अन्तिम संस्कार गरे सोमबार।
पाण्डेको विभत्स हत्यापछि उनको माइतीपक्ष र आफन्त निरन्तर आन्दोलनमा थिए। प्रहरीले शनिबार विकलाई बिर्तामोडमा पक्राउ गरेर आइतबार सार्वजनिक गर्यो। आइतबार परिवारले शव बुझे।
प्रारम्भमा लुटपाटलाई हत्याको कारण नमानेको प्रहरीले आइतबार हत्याको कारण लुटपाटै भएको दाबी गर्यो।
क्यासनोमा जुवा खेल्ने लतमा तीन लाख ऋण लागेका विन खर्चहिन भएपछि लुट्ने ठाउँ खोज्दै हिँडेको र निरा पसलमा एक्लै देखेपछि सामान किन्ने बहानामा गएर सिक्री लुट्ने क्रममा छुरीले हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।
प्रहरीले घटनामा विकको संलग्नताबारे केही विश्वसनीय प्रमाणसमेत सार्वजनिक गर्यो। तर हत्याको कारण भने पत्यारयोग्य देखिएन।
प्रहरीले पनि हत्याको कारण लुट्ने क्रममा भएको प्रतिकारलाई मात्र हो भनिरहेको छैन। ‘अहिलेसम्मको अनुसन्धानमा खुलेअनुसार’ भनिरहेको छ।
निराको हत्या अनि हत्या आरोपी पक्राउ पर्दासम्म निराको घरपट्टीबाट भएको बेवास्ताले पनि हत्या कारणमा शंका बढाएको देखिन्छ। तर, प्रहरी अहिले हत्याको कारण यही हो भन्नसक्ने अवस्थामा पनि छैन, हैन भन्न अन्य कारण खुलाउन सकेको देखिएन।
प्रहरीका लागि तत्कालिन उपलब्धि हत्या आरोपी पक्राउ नै देखिन्छ। त्यसैले आइतबार १० दिनपछि आरोप पक्राउ परे पनि यो प्रहरीको सफलता भएको र यसले जस्तोसुकै घटनामा पनि आरोपी प्रहरीबाट जोगिन नसक्ने सन्देश गएको दाबी गरिन् एआइजी किरण बज्राचार्यले।
हत्याका आरोपी खुलाउने चार प्रमाण
कारण विश्वसनीय नदेखिए पनि हत्याका आरोपी विक हुन्न भन्ने पुष्टि हुनसक्ने प्रमाण भने प्रहरीले सार्वजनिक गर्यो।
पहिलो प्रमाणको रूपमा प्रहरीले निराको पसल क्षेत्रदेखि भक्तपुरसम्मको सिसिटिभी संकलन गर्यो जसमा विककै जिउडालका व्यक्ति छन्। उनी त्यो क्षेत्रमा घटनाको समयमा देखिएका छन्।
दोस्रो प्रमाण सिसिटिभीमा देखिएका विक नै हुन् भन्ने ब्याग। सिसिटिभीमा देखिएको व्यक्तिले जुन ब्याग बोकेका थिए प्रहरीले त्यो ब्याग भक्तपुरमा उनको साथीको डेरामा फेला पार्यो।
तेस्रो प्रमाण रगत लागेको सर्ट। सिसिटिभीमा देखिएका व्यक्ति निराको पसलमा जाँदा सर्टमा देखिन्छन्। फर्कदा टिसर्टमा। सिआइबीले डेराबाटै सर्ट समेत बरामद गर्यो जसमा रगतका केही टाटा समेत भेटियो।
चौथो प्रमाण बन्यो लुटिएको सिक्री। प्रहरीले विकले बालाजुको सुन पसलमा बन्धकी राखेको सिक्री फेला पारेको छ जुन निराको हुनसक्छ।
भेटिएन महत्वपूर्ण प्रमाण
प्रहरीको दाबीअनुसार विकको योजना सुनको सिक्री लुट्ने मात्र थियो। तर उनले सिक्री लुट्न खोज्दा निरा कराउन खोजिन्। उनले मुख थुने अनि पसलमा रहेको चक्कुले अन्धाधुन्द हानेर हत्या गरे।
प्रहरीले निराको पसलदेखि विक भक्तपुर पुगेसम्मको बाटामा देखिएका सिसिटिभी हेरेको देखिन्छ। तर हत्यामा प्रयोग भएको चक्कु फेला पारेको छैन।
विकको बयानका आधारमा खोलामा फालेको दाबी गर्छ प्रहरी तर कुन खोला खुलाउन सकेको छैन। चक्कु फेला परेको छैन।
वैशाख १८, २०८० सोमबार २०:३०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।