सरकार र महावीर पुनबीच सहमति, उपप्रधानमन्त्रीले गरे हस्ताक्षर

काठमाडौं : सरकार र धर्नामा बसेकाे राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सातबुँदे सहमति भएको छ।
शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका पुन र सरकारबीच सोमबार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउनेसहित सातबुँदे सहमति भएको हो।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सोमबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमतिअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने छ।
कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्नेछ भने संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्नेछ।
साथै आगामी आर्थिक वर्ष पुँजीगत (विकास) बजेटको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने पनि सहमतिमा उल्लेख छ।
अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानुनी सुधारमा सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ।
सरकारसँग भएको सहमतिसँगै आविष्कार केन्द्रका अध्यक्ष पुनले शुक्रबारदेखि माइतीघर मण्डलामा थालेको धर्ना पनि स्थगित भएको छ।
वैशाख १८, २०८० सोमबार १८:००:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।