यूएईको १०६ रनमा ९ विकेट पतन, वर्षाले फेरि खेल रोकियो

यूएईको १०६ रनमा ९ विकेट पतन, वर्षाले फेरि खेल रोकियो

काठमाडौं : नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाको कारण पुनः रोकिएको छ।

खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले सानदार प्रदर्शन गर्दै यूएईका ब्याटरलाई पुरै दबाबमा राखेको छ।

२८ औं ओभरमा मात्र १०६ रनमा यूएईको ९ विकेट झरिसकेको छ। यूएईका लागि आसिफ खानबाहेक अन्य कुनैपनि ब्याटर क्रिजमा टिक्न सकेनन्।

आसिफले ५७ बलमा ७ चौका र १ छक्कको सहयोगमा ४६ रन जोडेका थिए। उनलाई ललित राजवंशीले आउट गरे।

नेपालका लागि ललित राजवंशीले ३, करण केसी र सन्दीप लामिछानेले २/२ तथा सोमपाल कामी र गुल्शन झाले एक/एक विकेट लिए।

आजको खेल वर्षाको कारण रोकिएको यो दोस्रो पटक हो। यसअघि पहिलो पटक खेल रोकिंदा यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको थियो।

खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले सानदार सुरुवात गरेको थियो।

सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले यूएईका ओपनर तथा कप्तान मोहमद वासिमलाई मात्र ११ रनमा आउट गरे।

यसपछि करण केसीले अर्का खतरनाक ब्याटर वृत्य अरविन्दलाई पनि मात्र ८ रनमा पेभोलियनको बाटो देखाए।

अर्का ओपनर आर्यन लाक्रालाई १३ रनमा करणले नै आउट गर्दा रमिज सहेजादलाई ललित राजवंशीले मात्र १ रनमा फिर्ता पठाए।

रोहन मुस्तफा पनि मात्र २ रनमा सन्दीप लामिछानेको बलमा क्याच आउट भएका थिए। बसिल अहमद मात्र १० रनमा गुलशनको बलमा बोल्ड हुँदा यूएईको ९० रनमा ६ विकेट खसेको थियो। 

यसपछि राम्रो पारी खेलेका आसिफ खानसँगै जाहुर खानलाई ललितले शून्य रनमा आउट गरे भने आयान खान ५ रनमा सन्दीपको शिकार बने।

ललितले २८ औं ओभरमा लगातार दुई बलमा २ विकेट लिएर ह्याट्रिक बल फाल्नु अगाडि पानीका कारण खेल रोकियो।

वैशाख १८, २०८० सोमबार ११:५८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।