संसदीय दलको नेता चयन गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज (सोमबार) बस्ने भएको छ।
आज बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको हो।
शनिबार पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको बताइएको छ।
उपनिर्वाचनबाट पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आएपछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक बस्न लागेको हो।
आजको संसदीय दलको बैठकले रविलाई फेरि संसदीय दलको नेतामा चयन गर्ने बुझिएको छ।
उता यसअघि हिजो रवि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका थिए। केन्द्रीय समितिको बैठक अघि रवि र प्रधानमन्त्री प्रचण्डको यस भेटलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ।
प्रचण्ड रास्वपालाई फेरि सरकारमा सहभागी गराउन लागि परेका छन् भने रास्वपाले यस विषयमा कुनै निष्कर्ष निकालेको छैन।
वैशाख १८, २०८० सोमबार ०८:३६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।