प्रिमियर लिग : युनाइटेडको जितमा ब्रुनोको निर्णायक गोल, सिटीले फुलह्यामलाई हरायो

काठमाडौं : प्रिमियर लिगको आइतबार भएको खेलमा म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी विजयी भएका छन्।
ओल्ड ट्राफोडमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई १–० ले पराजित गर्यो। खेलको ३९औं मिनेट युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले गोल गरे। त्यहि नै खेलका लागि निर्णायक बन्यो।
उता सिटीले फुलह्यामलाई २–१ गोलले पराजित गर्यो। उसका लागि अरलिङ्ग हल्याण्डले खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत अग्रता दिलाउँदा फुलह्यामका कार्लोस भिन्सीयसले १५औं मिनेटमा गोल फर्काउँदै बराबरीमा ल्याए।
तर त्यो बराबरी लामो समय टिक्न सकेन। पहिलो हाफकै ३६औं मिनेटमा सिटीका जुलियन एल्भारेजले थप एक गोल गरे। दोस्रो हाफमा दुवै पक्षबाट गोल हुन नसक्दा एल्भारेजको गोल नै निर्णायक बन्यो।
जितसँगै सिटी ३२ खेलबाट ७६ अंक बटुलेर शीर्ष स्थानमा रहँदा युनाइडेट ३३ खेलमा ६५ अंकसहित चौथो स्थानमा छ। पराजित एस्टन भिल्ला र फुलह्याम क्रमशः ५४ र ४५ अंकसहित सातौं र दशौं स्थानमा छ।
उता प्रिमियर लिगकै अन्य दुई खेलमा एएफसी बुर्नेमाउथले लिड्स युनाइडेटलाई ४–१ ले स्तब्ध बनाउँदा न्यूक्यास्टल युनाइटेडले साउथह्याम्पटनलाई ३–१ गोलले पराजित गर्यो।
वैशाख १७, २०८० आइतबार २१:४०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।