उपचारपछि स्वदेश फर्किए चन्द्र भण्डारी

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सांसद् चन्द्र भण्डारी स्वदेश फर्किएका छन्।
भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत उनी आइतबार साँझ स्वदेश फर्किएका हुन्।
त्यस क्रममा उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरू, सहकर्मीहरू सबैप्रति धन्यवाद व्यक्त गरे।
भण्डारीले भने, ‘एउटा ठूलो दुर्घटनाबाट हामी आएका छौं। हुनत नेपालमा अहिलेसम्म यो वर्षमा ११० जना नेपाली दाजुभाइ दिदीबहिनीले आगजनीबाट ज्यान गुमाउनु परेको छ। मैले आमा हरिकला भण्डारीलाई पनि दुर्घटनामा गुमाएँ। आमा हुनुहुन्न भनेर मैले भर्खर मात्रै थाहा पाएँ। नेपालमा धेरै आमाबुबा र युवायुवतीले ज्यान गुमाउनु भएको छ। यी दुःखद पक्ष हुन्।’
उनले ठूला कुरा गर्ने, साना कुरा गर्दै नगर्नाले यस्तो दुर्घटना भइरहेको उनले बताए। स्वास्थ्यमा सुधार हुँदै गएपछि उनी स्वदेशमै बसेर उपचार गर्ने गरी फर्किएका हुन्।
गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर भण्डारी घाइते भएका थिए। सोही घटनामा उनकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको थियो।
वैशाख १७, २०८० आइतबार २०:२९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।