लुक्ला जान काठमाडौंभन्दा मन्थली सजिलो, पर्यटकीय सिजनमा दैनिक ५० उडान, तर स्थानीयलाई छैन सुविधा

लुक्ला जान काठमाडौंभन्दा मन्थली सजिलो, पर्यटकीय सिजनमा दैनिक ५० उडान, तर स्थानीयलाई छैन सुविधा

रामेछाप : आन्तरिक तथा बाह्य पर्यटकका लागि रामेछापको मन्थली त्यति आकर्षक गन्तव्य होइन। अलि रमाइलो भनेको कोशीको किनारको बसाइ नै हो। तर सगरमाथा जाने सिजनमा भने यहाँ छक्कै पार्ने गरि पर्यटक हुन्छन्, त्यो पनि बाह्य।

यहाँका होटलहरु प्रायः भरिभराउ छन्। तर ती पर्यटकको मन्थली बसाइ एक रात मात्र हो। कारण उनीहरू मन्थली घुम्न हैन सगरमाथा क्षेत्र जान मन्थली आउँछन्। 

काठमाडौंको आकाश आन्तरिक उडानका कारण प्रायः जामै हुन्छन्। निश्चित समयमा उडान नभए लुक्ला जान सम्भव छैन। त्यसैले काठमाडौंबाट लुक्ला मुस्किलले दैनिक दुई उडान हुन्छन्। तर मन्थलीबाट भने दिनभर प्लेन उडिरहेका हुन्छन्।

रामेछापबाट लुक्ला जान दैनिक ५० उडान हुन्छन्। काठमाडौंबाट लुक्ला जान उडान पक्का नहुने भएपछि पर्यटकहरू स्थल मार्गबाट मन्थली आउँछन्। एक रात होटलमा बस्छन् अनि लुक्ला जान्छन्। 

कोशी पारिबाट देखिएको मन्थली विमानस्थल

नेपाल  नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मार्च १५ देखि मे १५ सम्म पर्यटकीय सिजनमा उडान धेरै हुने भएकाले २०७५ देखि काठमाडौँबाट लुक्ला उडान कम गर्दै रामेछापबाट उडान गरिएको हो।

‘काठमाडौंबाट उडान गर्दा ‘एयर ट्राफिक कन्ट्रोल’ गर्न गाह्रो हुने भयो,’ उनले भने, ‘त्यसैले हामीले रामेछापबाट उडान गरेका हौं।’

मन्थलीको विमानस्थलबाट दैनिक ५० सम्म उडान हुन्छन्। यसले बाह्य पर्यटक लक्षित गरेर खुलेका रिसोर्ट अनि होटल भरिभराउ नै छन्।

काठमाडौंबाट लुक्ला ३० मिनेट लाग्छ भने रामेछापबाट लुक्ला १५ मिनेट लाग्छ। तारा, समीट र सिता एयरले रामेछापबाट लुक्ला उडान गरिरहेका छन्।

काठमाडौंबाट ३० मिनेटमा पुगिने ठाउँमा पर्यटकले एक रात बिताउनै पर्ने वाध्यता छ। कारण न मन्थलीबाट काठमाडौंमा हवाई उडान हुन्छ न काठमाडौंबाट मन्थली।

दिनभर मन्थलीको आकाशमा प्लेन कराइरहन्छन्। तर त्यही प्लेन मन्थलीवासीले चढ्न भने पाउँदैनन्। काठमाडौं-मन्थली हवाई उडान नहुँदा पर्यटकसमेत चार घण्टाको सडक मार्गको प्रयोग गर्न बाध्य छन्। 

हवाई उडान भए काठमाडौंबाट २० मिनेटमै मन्थली आउन सकिन्छ। तर यात्रु नहुने भन्दै निजी वायु सेवा उड्दैनन् नै सरकारी नेपाल वायु सेवा निगमले पनि यो रुटको प्रयोग गर्दैन।

सञ्चारकर्मी बद्री नयाँघरे हवाई उडान हुने हो भने यात्रुहरू रहेको बताउँछन्। सिजनमा मन्थली हुँदै लुक्ला जान पर्यटक हवाईमार्गबाट आउने अनि मन्थलीवासीले पनि सडकमार्गको विकल्पमा हवाई मार्ग प्रयोग गर्नसक्ने भए पनि भौतिक संरचना हुँदा समेत उडान हुन नसकेको उनले बताए।

कोशी पारिबाट देखिएको विमानस्थलको रात्रिकालिन दृष्य

उडान खुलाउन छलफल

आइतबार वायु सेवाका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि र सञ्चारकर्मीबीच मन्थली-काठमाडौंको उडान सुरु गर्ने विषयमा छलफल भएको थियो। 

छलफलमा प्रतिनिधि सभा सांसद कान्छाराम,मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुर लगायत सहभागी थिए। जनप्रतिनिधिहरूले जेठ पहिलो साताबाट उडान गर्न आग्रह गरेका थिए। 

निर्देशनालय प्रतिनिधीले उडान सुरु गर्नेबारे सकारात्मक जवाफ दिए पनि स्थानीय तह र स्थानीय सञ्चारकर्मी भने विश्वस्त देखिएनन्।

वैशाख १७, २०८० आइतबार १४:१०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।