सरकारले ज्येष्ठ नागरिक भत्ता कटौती गर्दैछ भनेर हल्ला फिजाइयोः सञ्चारमन्त्री

सरकारले ज्येष्ठ नागरिक भत्ता कटौती गर्दैछ भनेर हल्ला फिजाइयोः सञ्चारमन्त्री
फाइल तस्वीर

सरकारकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकी छन्। 

दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याएको बताइन्।

उनले भनिन्, 'पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षाभक्ता कटौती गर्दैछ भनेर पनि प्रचार गरिएको छ यो सरासर गलत हो । योबारेमा अहिलेको सरकारले कुनै निर्णय नलिएको र यो विषय सोच्नै सकिँदैन।'

सरकारलाई बदनाम गराउनेले ज्येष्ठ नागरिक भत्ता कटौती गर्दैछ भनेर हल्ला फिजाइएको उनको भनाइ थियो। 

मन्त्री शर्माले सरकारले गरेका सकारात्मक कामलाई पार्टी कार्यकर्ताले जनतासामु लैजान र जनताका समस्या सरकारसम्म ल्याउन आग्रह गरिन्। 

सरकार खेतीको समय अगावै सबै किसानको पहुँचमा मलखाद पुर्याउन प्रतिबद्ध रहेको उनले बताइन्। मिटरब्याजी पीडितका समस्या सधैँका लागि अन्त्य गर्न कानुन निर्माण गरी हल गर्ने प्रक्रियामा सरकार रहेको उनले जनाइन्। 

वैशाख १६, २०८० शनिबार १९:३३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।