पोखराको मतगणनासम्बन्धी रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, उच्चको फैसला तत्काल यथास्थितिमा राख्नू

सर्वोच्च अदालतले पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणनासम्बन्धी परेको रिटमा उच्च अदालतको आदेश तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले वडाध्यक्ष पदको मतगणनासम्बन्धी उच्च अदालत पोखराको यसअघिको आदेशमा यस्तो आदेश जारी गरेको हो।
स्थानीय निर्वाचन २०७९ मा उक्त वडाबाट कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमल्सिना एमालेका पुस्कलबहादुर थापालाई ३ मतले हराउँदै निर्वाचित भएका थिए।
तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनः मतगणनाको माग राखेर गत जेठ १८ गते उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुनः गणना गर्न आदेश दिएको थियो ।
तर उक्त आदेशविरुद्ध तिमिल्सिनाले सर्वोच्चमा पुनरावेदन रिट दायर गरेका थिए । सर्वोच्चका प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले उच्च अदालत पोखराको फैसला कार्यान्वयन नगरी यथास्थितमा राख्न भनेको हो।
'प्रस्तुत आदेशको जानकारी विपक्षीहरूलाई दिई मुद्दाको प्रकृति हेर्दा छिटो टुंग्याउनुपर्ने अवस्थाको देखिँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिइएको छ,' आदेशमा भनिएको छ।
वैशाख १५, २०८० शुक्रबार २२:२७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।