कर्मचारीको सेवाप्रवाह चित्त नबुझे त्यसको आक्रोश सरकारमाथि पोखिन्छः मन्त्री मोदी

कर्मचारीको सेवाप्रवाह चित्त नबुझे त्यसको आक्रोश सरकारमाथि पोखिन्छः मन्त्री मोदी

काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीहरूको सेवा प्रवाहमा चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिने बताएका छन् । 

नेपाल आयल निगमन कर्मचारी युनियनको नवौँ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले भने, 'जनतासँग सिधै जोडिने भनेको जनता हो, कर्मचारीको सेवाप्रवाहमा यदि चित्त बुझेन भने जनताको आक्रोश सरकारमाथि पोखिन्छ।' 

त्यसकारण कर्मचारीले सेवाग्राहीलाई सन्तुष्ट हुनेगरी सेवा प्रदान गर्नुपर्ने उनको भनाइ थियो। 

कर्मचारीहरूले सरकारको नीति र कार्यक्रमअनुसार काम गर्नुपर्ने मन्त्री मोदीको भनाइ थियो । सरकारको मूल नीतिअनुसार कर्मचारीले काम नगर्दा जनस्तरबाट सरकारको आलोचना हुने गरेको उनले बताए ।

उनले थपे, 'कर्मचारी साथीहरूले सरकारको नीति अनुसार काम गरेन भने सरकारको आलोचना हुन्छ । कर्मचारीहरू वा सम्बन्धित निकायले अपेक्षाकृत परिणाम दिन नसक्दा त्यसको आक्रोश पनि राजनीतिक दलमाथि पर्न जान्छ ।' 

सबै दल र नेतृत्व लामो राजनीतिक संघर्षबाट उदय भएकाले उनीहरूको योगदानको समेत अवमूल्यन हुने खतरा भएको भन्दै मन्त्री मोदीले भने, 'सुशासन कायम गर्ने र मुलुकलाई समृद्धिको बाटोमा लैजान खोज्दासमेत सरकारले अहिले जस पाइरहेको छैन, राजनीतिक आन्दोलनबाट उदाएका नेतृत्वको मूल्यांकनसमेत हुन छाडेको छ ।'

कर्मचारीहरूले आफ्नो अधिकारभन्दा पहिले जनतालाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नेतिर ध्यान दिनुपर्ने उनले बताए ।

वैशाख १५, २०८० शुक्रबार १७:१४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।