प्रतिनिधिसभा बैठकमा सांसदहरूको चिन्ताः बौद्धिक पलायन हुन थाल्यो
प्रतिनिधिसभामा सांसदहरूले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्न आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले बौद्धिक पलायन रोक्न सरकारले आवश्यक कार्यक्रम अघि बढाउनपर्ने धारणा व्यक्त गरे।
सांसद माधवप्रसाद सापकोटाले जनआन्दोलनमा लडाकुले गरेको योगदानलाई बिर्सन नहुने बताउँदै अयोग्य लडाकुको विषयमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै पालाको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताए।
उनले संसद्लाई भ्रमित पार्ने गरी यो विषयमा कुरा उठाउन उपयुक्त नभएको स्पष्ट पारे।
सांसद गणेश पराजुलीले गतराति बाजुरामा भूकम्प गएको र आगामी दिनमा थप भूकम्प जान सक्ने विषयमा सरकारको आवश्यक तयारीबारे सजग गराए।
सांसद राजकिशोर यादवले बजेट निर्माण भइरहेको अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकता राखी आवश्यक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।
सांसद अब्दुल खानले इदमा दिने गरेको एक दिनको बिदा वर्तमान सरकारले कटौती गरेकोप्रति आपत्ति प्रकट गर्दै मुस्लिम समुदायका लागि एक दिन बिदा दिने विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।
सांसद प्रेम सुवालले सरकारले जनगणना २०७८ मा लिम्पियाधुरालाई किन छुट्याएको भनी प्रश्न गर्दै पटक पटक लडाकुका नाममा कार्यकतालाई पैसा बाँड्नु भ्रष्टाचार भएको बताए।
सांसद प्रभु साहले नेपालमा आठ महिनायता मात्रै आठ अर्बभन्दा बढी पैसा विदेशिएको भन्दै त्यसतर्फ राज्यले ध्यान दिनुपर्ने आग्रह गरे।
वैशाख १५, २०८० शुक्रबार १७:०५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।