हत्या अभियोग लागेका फरार सांसद जोगाउँदै सभामुख, न पद खारेज, न निलम्बन

हत्या अभियोग लागेका फरार सांसद जोगाउँदै सभामुख, न पद खारेज, न निलम्बन

काठमाडौं : एमाले सांसद लक्ष्मी महतो कोइरी सशस्त्र प्रहरी थमन बिकको हत्या अभियोगमा फरार रहेको प्रहरीको पत्र आएको चार महिना कट्दा पनि सभामुख देवराज घिमिरेले निलम्बन गरेका छैनन्।

घिमिरे एमालेबाट सभामुख भएका हुन्। प्रहरी प्रधान कार्यालयले पुस ७ गते नै कोइरीको अबस्थाबारे खुलाउँदै उनी हत्या अभियोगमा उच्च अदालतले पुर्पक्षका लागि कारागार चलान हुनुपर्ने तर उनी अदालतमा समेत हाजिर नभइ फरार रहेको उल्लेख छ।

प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयको कानुन शाखाले संसद सचिवालयको महासचिवलाई लेखेको पत्रमा कोइरीको सबै कानुनी पाटो खुलाइएको छ। निलम्बन गर्न सोही पत्र काफी देखिन्छ।

नेपाली कांग्रेसबाट मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारका अभियुक्त भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रकै आधारमा संसद सचिवालयले निलम्बन गरेको थियो। 

कोइरी एमालेबाट महोत्तरी-१ बाट निर्वाचित भएका थिए। उनी फरारकै हैसियतमा निर्वाचित भए। फरारकै हैसियतमा संसदमा आएर शपथ लिए अनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका थिए।

फरार सांसद संसद्मा आउँदा पनि प्रहरीले पक्राउ नगरेको भन्दै विरोधसँगै तत्कालीन गृहमन्त्री रवि लामिछानेको आलोचना भएको थियो। आलोचना बढेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कोइरीलाई पक्राउ गर्न लिखित निर्देशन दिएपछि उनी भूमिगत भए। 

संसदीय नियम अनुसार कुनै सांसद नियमित १० पटक बैठकमा अनुपस्थित भएका उसको पद खारेज हुने प्रावधान छ। कोइरी १० पटकभन्दा बढि बैठकमा आएका छैनन्। 

संसद सचिवालय कोइरी जोगाउन सक्रिय देखिएपछि मिडियामा आलोचना बढ्यो। संसदमा यो विषय उठ्न थालेपछि संसद सचिवालयले कोइरीले बिरामी भएको पत्र पठाएको दाबी गरेको थियो। 

पत्र स्रोत : जयसिंह महरा

वैशाख १५, २०८० शुक्रबार ०८:५९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।