लुम्बिनीका मुख्यमन्त्री डिल्लीको शपथ आज, सानो मन्त्रिमण्डल बनाउने तयारी

बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शपथ ग्रहण गर्दैछन्। बिहान साढे ११ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ ग्रहणको तयारी गरिएको छ।
मुख्यमन्त्री चौधरीलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्रीको शपथसँगै आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरिएको छ। सत्तारुढ दलहरुबीच मन्त्रालय भागबन्डाको विषय भने अझै टुंगिएको छैन।
जस कारण साना दलहरुका प्रतिनिधिलाई आज सरकारमा पठाइने सम्भावना बढि छ। प्रदेश सभामा एमाले र राप्रपा बाहेक ८ दल सरकारमा छन्।
कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले गठबन्धन दलमा भागबन्डा अझै नटुंगिएकाले आज लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपाबाट एक/एक जना मन्त्री बन्ने सम्भावना रहेको बताए।
लोसपाबाट सन्तोष पाण्डे, जसपाबाट भण्डारीलाल अहिर, जनमतबाट सिके गुप्ताको नाम गइसकेको छ भने उन्मुक्तिबाट नाम छनौट भएको छैन।
वैशाख १५, २०८० शुक्रबार ०८:२८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।