डाबर नेपालले नेपालमा थप नौ अर्ब ६८ करोड लगानी गर्ने

डाबर नेपालले नेपालमा थप नौ अर्ब ६८ करोड लगानी गर्ने

काठमाडौँ : बहुराष्ट्रिय कम्पनी डाबर नेपालले नेपालमा नौ अर्ब थप लगानी गर्ने भएको छ। लगानी बोर्ड नेपाल र प्रालिबीच पुनर्लगानी परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सहमति अनुसार डाबर नेपालले निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि  ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी गर्ने छ।

लगानी बोर्डको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा लगानी बोर्डका सदस्य रमेश रिजालको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपाल प्रालिका तर्फबाट बिजनेस हेड हरकिरत सिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि लगानी बोर्डको ४९ औँ बैठकले २०७८ माघ २५ मा भएको बैठकले लगानी स्वीकृत गरेको थियो।

समझदारीपत्रमा हस्ताक्षरपश्चात्‌ डाबर नेपाल प्रालिका बिजनेस हेड वेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको बताएका थिए।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपाल प्रालिका तर्फबाट हुन लागेको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको चर्चा गरेका थिए।

वैशाख १४, २०८० बिहीबार २३:११:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।