श्रीमानसँग बस्दै आएकी निरु छोरासहित कसरी हराइन् ? इलामबाट आएका बुवा खोजीमा भौँतारिँदै

ललितपुरमा बस्दै आएकी ४० वर्षीया निर्मला ढकाल सुवेदी (निरु) गएको चैत २३ देखि बेपत्ता भइन्।
उनको खोजीका लागि प्रशासन, सामाजिक सञ्जाल र आफन्त गुहारे पनि हालसम्म उनलाई पत्ता लगाउन सकिएको छैन ।
ललितपुरस्थित महालक्ष्मी नगरपालिका-३ इमाडोलमा श्रीमान् चेतमणि सुवेदीसँग बस्दै आएकी निरु बेपत्ता भएकी हुन्। उनका साथमा पाँच वर्षीय छोरा चेन्ज सुवेदीसमेत छन् ।
दुवै हाल परिवारको सम्पर्कमा छैनन्। इमाडोल टेम्पोपार्क नजिकै रहेको आफ्नै मिनिमार्टमा दिनभर काम गरेकी उनी त्यसै दिन साँझदेखि हराएकी हुन्।
व्यापारबाट घरगुजारा चलेकै थियो । मिनीमार्टमा अरू स्टाफ पनि भएकाले पसलसँगै निरु इमाडोलको कृष्ण मन्दिर नजिकै डेरामा छोराको हेरचाह गर्दै बस्दै आएकी थिइन्।
५ वर्ष कोरिया बसेर फर्किएपछि घरजम गरेकी निरु छोरासहित बेपत्ता भएपछि परिवारमा आपत्ति निम्तिएको छ । चैत २२ गते नजिकै साथीको घरमा बास बसेकी उनी २३ गतेदेखि सम्पर्क छैनन्।
निरु हराएपछि उनका बुवा ६७ वर्षीय नारायण ढकाल इलामको माइजोगमाईबाट काठमाडौँ आइपुगेका छन्।
ढकाल यतिबेला आफ्नी साइँली छोरी निरु र नातिको खोजीमा उपत्यकाका सडक र गल्लीमा भौँतारिरहेका छन्। प्रहरी प्रशासन, आफन्त, चिनजानमा रहेका व्यक्तिसँग छोरी खोजी गरिदिन हारगुहार गरिरहेका छन्।
इलामको देउमाई नगरपालिका-६ स्थायी घर र इलामकै माइजोगमाई-६ माइत भएकी निरुको सीमित साथी र केही आफन्तबाहेक धेरैसँग सम्पर्क नभएको बुझिएको छ ।
दुई वर्षदेखि मोबाइल बोक्न नदिएको भन्ने आफूले भर्खर थाहा पाएको निरुका बुवाले बताएका छन्। मोबाइल नभएपछि सामाजिक सञ्जाल चलाउने कुरै भएन ।
ज्वाइँसँग राम्रैसँग घर गरी खाएको भन्ने जानकारी भएपछि माइती पक्षले खासै चासो राखेको थिएन । घरजम गरेकी छोरीलाई धेरै सोधीखोजी नगरिएको बुबा ढकाल बताउँछन्। 'बेपत्ता भएको खबरले मन पोलिरहेको छ, काठमाडौँ, भक्तपुर, ललितपुरका धेरै ठाउँमा पुगिसकेँ, केही पत्तो लागेको छैन', उनले भने।
मन्दिर, आश्रम, सडक गल्ली सबैतिर पुगिसकेको भए पनि कुनै खबर प्राप्त नभएको बुबा बताउँछन्। प्रहरी, आफन्त, साथीसंगत सबै बुझिसकेको भए पनि बजारको भीडभाडमा छोरी कतै फेला नपरेपछि उनी निराश छन्।
छोरी र नाति बेपत्ता भएपछि ज्वाइँको बोली र व्यवहारप्रति शंका लागेको ढकाल बताउँछन्। ज्वाइँले पटक-पटक बोली फेर्ने गरेका उनले बताए।
छोरीसँगको सम्बन्धमा खटपट भएको आशंका आफूले गरेको बुबाको भनाइ छ । बेपत्ता निरुका भाइ सञ्जीव ढकालसमेत काठमाडौँमै छन्। उनले दिदी चैत २३ गते साथीकोमा जान्छु भनी निस्किएपछि मात्र आफूले जानकारी पाएको बताए।
मोबाइल पनि नबोकेका कारण फोन गर्ने कुरै भएन । 'एकसरो मात्र कपडा लगाएर दिदी हिँडेको उनले बताए।
बेपत्ताको खोजीका लागि परिवारले नेपाल प्रहरी वृत्त सातदोबाटो र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पनि निवेदन दिइसकेको छ ।
सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा दाहालले बेपत्ता भएका व्यक्तिको सम्भावित स्थानमा खोजी भइरहेको बताएका छन्।
परिवारका सदस्यहरूले निज महिलालाई खोजी गरिदिन अनुरोध गर्दै फोन नम्बर पनि उपलब्ध गराएका छन्।
आफन्त तथा परिवारलाई मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन परिवारको अनुरोध छ ।
वैशाख १४, २०८० बिहीबार १९:४९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।