प्रतिनिधिसभा निर्वाचनमा पराजित राप्रपा अध्यक्ष कमल थापाको चुनाव खर्च साढे १५ लाख

प्रतिनिधिसभा निर्वाचनमा पराजित राप्रपा अध्यक्ष कमल थापाको चुनाव खर्च साढे १५ लाख

काठमाडौँः राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बझाएका छन्। 

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट सूर्य चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष थापाले १५ लाख ३७ हजार तीन सय ४० खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन्। 

थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरणानुसार सवारी साधनमा दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठी, अन्तरक्रिया शीर्षकमा दुई लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा एक लाख ७७ हजार नौ सय र प्रचारप्रसारका लागि छापा एवं विद्युतीय माध्यममा दुई लाख ५९ हजार चार सय ४० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । 

मकवानपुर क्षेत्र नम्बर १ मा उनी गएको प्रतिनिधिसभा निर्वाचनमा तेस्रो भएका थिए। उनले २५ हजार ४ सय २० मत ल्याएका थिए भने विजयी राप्रपाका २७ हजार ८ सय ८६ मत ल्याएका थिए। 

त्यस्तै यहाँ नेपाली कांग्रेसकी डिना उपाध्यायाले २५ हजार ४ सय ३४ मत पाएकी थिइन्। 

वैशाख १४, २०८० बिहीबार १९:१०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।