आफ्ना अध्यक्षमाथि आक्रमण गर्नेलाई प्रधानमन्त्रीले प्रोत्साहन गरेको एमालेको आरोप

आफ्ना अध्यक्षमाथि आक्रमण गर्नेलाई प्रधानमन्त्रीले प्रोत्साहन गरेको एमालेको आरोप

प्रमुख प्रतिपक्षी एमालेले आफ्ना अध्यक्ष केपी ओलीमाथि भएको आक्रमण प्रयास भएको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ। 

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमै पुगेर एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्तिसुरक्षामा देखापरेको चुनौतीबारे ध्यानाकर्षण गराएको हो। 

गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टी अध्यक्ष ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै देशको शान्ति सुरक्षाबारे प्रश्न उठाए। 

उनले गृहमन्त्रीसँग आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरे। प्रधानमन्त्री पुष्पकमल दाहालले नै अराजक गतिविधि गर्नेहरूलाई प्रोत्साहन गरिरहेका उनको आरोप थियो।

एमाले अध्यक्ष ओली झापामा आयोजित कार्यक्रममा सहभागी हुन जाँदा बुधबार ढुंगा प्रहार भएको थियो । 

आक्रमण नियन्त्रण गर्न खोज्दा दुई प्रहरीसमेत घाइते भएका थिए। झापाको बुद्धशान्तिचोकमा कोसी प्रदेश नामकरणका पहिचान समर्थकहरूले ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए। प्रदर्शनकारीले ओलीलाई कालो झण्डा देखाएका थिए।

वैशाख १४, २०८० बिहीबार १७:३९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।