मौद्रिक नीतिमार्फत ब्याजदरको समस्या समाधान हुन्छः अर्थमन्त्री महत

मौद्रिक नीतिमार्फत ब्याजदरको समस्या समाधान हुन्छः अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताएका छन्।

 आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उनले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताए।

'अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ', उनले भने, 'ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।' उनले राष्ट्र बैंकले यसलाई गम्भीर रुपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास व्यक्त गरे। 

राष्ट्र बैंकलाई स्वतन्त्ररुपमा काम गर्ने अधिकार भएको भन्दै उनले एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताए।

मौद्रिक नीतिमार्फत बजारमा पुँजी प्रवाह आवश्यक रहेको उनको भनाइ थियो। 'ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । अब मौद्रिक नीतिमार्फत पुँजी प्रवाह जरुरी छ”, उहाँले भन्नुभयो, “यसमार्फत उद्योग व्यवसायलाई सहयोग पुग्नेछ ।'

वैशाख १४, २०८० बिहीबार १६:१२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।