कपनमा क्रुरतापूर्वक मारिएकी निराको अनुसन्धान अनुमानमै अड्कियो

काठमाडौं : कपनको व्यस्त बजारमा दिउँसै भएको हत्या घटनाको अनुसन्धान एक साता पुग्दा पनि रहस्यमै छ। हत्या हो भन्ने बाहेक थप उपलब्धि देखिएन निरा पाण्डेको हत्या अनुसन्धानमा।
वैशाख ७ गते दिउँसो ३ बजे भएको घटनाको प्रकृति हेर्दा रिसको झोकमा अन्धाधुन्ध छुरी हानेर पाण्डेको हत्या गरिएको प्रहरीको निष्कर्ष छ।
उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं अनि प्रहरी वृत्त बौद्ध घटनाको अनुसन्धानमा छ।
तर कसले अनि किन हत्या गर्यो भन्नेमा प्रहरी उत्तरहिन छ। एक साताको अनुसन्धानको उपलब्धि शंका वरिपरि नै घुमेको छ।
सरस्वतीनगरमा रहेको भाँडा पसलमा हत्या गरिएपछि सिक्री र पर्स लगेको दाबी समेत आएका छन्। यसले लुटपाटका लागि हत्या भएको हो कि जस्तो देखिए पनि घटनाको प्रकृतिले त्यस्तो देखाउँदैन।
‘जसरी छुरी हानिएको छ त्यसले यो आकस्मिक घटना जस्तो देखिंदैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘गहिरो घृणा वा दुश्मनी हुनुपर्छ यसमा।’
प्रहरीले अनुसन्धानको क्रममा पाण्डेको मोबाइल, सोसल मिडियामा सक्रियता लगायतका पाटो केलाइरहेको देखियो। घटनास्थलमा सिसिटिभी क्यामरा नभएकाले वरिपरीका सिसिटिभी फुटेज केलाउँदैछ प्रहरी।
सम्पर्कमा देखिएका व्यक्ति, पारिवारिक सम्बन्ध, आर्थिक व्यवहारको पाटो हेरिरहे पनि अहिलेसम्म अनुसन्धानले बाटो पहिल्याएको देखिएन।
श्रीमानसँग खटपट भइरहने, सामाजिक सञ्जालमा बढि नै सक्रिय हुने देखिएको छ। ग्राहक बनेर आएको व्यक्तिले हत्या गरेर भागेको हुनसक्ने अनुमान मात्र देखियो, निष्कर्ष हैन।
‘सबै कोणबाट अनुसन्धान भइरहेको छ। अहिले नै घटना यही हो भन्न सक्ने अवस्था छैन,’ अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्र राठौरले भने।
वैशाख १४, २०८० बिहीबार १२:२०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।