कामका आधारमा कर्मचारीको मूल्यांकन हुनेछ : अर्थमन्त्री महत

विराटनगर : अर्थमन्त्री डा. प्रकाश शरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन्।
बिहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा उनले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी इमानदार, पारदर्शी र समर्पणका साथ पूरा गर्न निर्देशन दिएका हुन्।
उनले भने, ‘कर्मचारीको कामका आधारमा अर्थमन्त्रालयले दृष्टिकोण बनाउँछ, कामभन्दा बाहेक अन्य कुनै कारण अथवा पृष्ठभूमिबाट तलमाथि लैजाने र ल्याउने काम अर्थमन्त्रालयले गर्दैन। जिम्मेवारी बहन एउटै मात्र आधार हो। यही अनुरूप काम गर्न म सम्पूर्ण कर्मचारी साथीहरुलाई अनुरोध गर्छु।’
‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन। भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिंदैनौं। मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोसिस गरिराख्नु भएको छ,’ उनले थपे।
‘यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने मैले अपेक्षा गरेको छु,’ मन्त्री महतले भने, ‘राजश्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनु हुँदैन। तर नियम कानुनले दिएको छ, त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु।’
वैशाख १४, २०८० बिहीबार १२:०८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।