खिमलाल देवकोटाको सुझावः २ पटक प्रधानमन्त्री र ३ पटकभन्दा बढी सांसद नहुने व्यवस्था गरौँ

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले शासकीय व्यवस्थाको संरचनाबारे केही सुझाव बुधबारको बैठकमा पेश गरेका छन्।
आम नागरिकमा निराशाको खेती गर्ने व्यवसाय मौलाउँदै गरेको भन्दै उनले शासन व्यवस्था र पार्टी नेतृत्वमा सुधार गरिएन भने स्थिति अकल्पनीय हुने निश्चित प्रायः रहेको बताए।
प्रधानमन्त्रीको कार्यकाल २ पटक, सांसद वा मन्त्री ३ पटक र पार्टी दलको नेतृत्व २ कार्यकालभन्दा बढी नहुने व्यवस्था गरिनुपर्ने पनि उनले बताए।
समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचित प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न पनि उनले माग गरे।
प्रतिनिधि र प्रदेश सभाको संख्या २७५ र ५५० बाट घटाएर १६५ र ३३० मात्र राख्न उपयुक्त हुने पनि उनको सुझाव थियो।
त्यस्तै अदालत संवैधानिक निकाय राजदूत विश्वविद्यालय दलीय भागबन्डालगायत आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरूमा पार्टी कार्यकर्ता भर्ना गर्ने काम पन बन्द गर्न उनले सुझाव दिए।
नागरिकका समस्या र गुनासहरू तत्कालै सम्बोधन हुने संयन्त्र बनाउन पनि उनले माग गरे।
वैशाख १३, २०८० बुधबार १७:०६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।