बारा २ मा रास्वपाका उम्मेदवार रमेश खरेलले जमानतसमेत जोगाउन सकेनन्

बारा २ मा रास्वपाका उम्मेदवार रमेश खरेलले जमानतसमेत जोगाउन सकेनन्

बाराः चितवन र तनहुँमा भारती मतान्तरले जित निकालेको रास्वपाले बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा जमानतसमेत जोगाउन सकेन। 

बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी हुँदा यहाँ रास्वपमा उम्मेदवार रमेश खरेल भने चौथो भए। 

गए राति मतगणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई पाँच हजार ८१ मतान्तरले हराउँदै यादव प्रतिनिधिसभा उपनिर्वाचनमा विजयी भए।  

यादवले २८ हजार चार सय १५ मत पाए भने कुशवाहाले २३ हजार तीन सय ३४ मत ल्याएका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। 

एमालेका पुरुषोत्तम पौडेल १० हजार दुई सय १६ मत प्राप्त गरेर यहाँ तेस्रो हुँदा रास्वपा उम्मेदवार रमेश खरेलले भने जमानत पनि जोगाउन सकेनन्। उनले मात्र २ हजार ८ सय २९ मत ल्याए। 

त्यस्तै आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले एक सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले एक सय नौ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाए।

बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ जनाले मतदान गरेका थिए ।

गत वर्ष मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउतसँग पराजित भएका थिए। 

बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो। 

वैशाख १३, २०८० बुधबार ०८:३७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।