रियल म्याड्रिडलाई हराउन अर्जेन्टिनाका कास्टेलानोस एक्लैले गरे ४ गोल

रियल म्याड्रिडलाई हराउन अर्जेन्टिनाका कास्टेलानोस एक्लैले गरे ४ गोल

एजेन्सी : अर्जेन्टिनाका फरवार्ड कास्टेलानोस एक्लैले चार गोल गरेपछि स्पेनिस लिगमा रियल म्याड्रिड जिरोनासँग ४-२ गोल अन्तरले पराजित भएको छ।

जिरोनालाई घरेलु मैदानमा आकर्षक जित दिलाउन भ्यालेन्टिन कास्टेलानोसले ह्याट्रिक सहित चार गोल गरे।

स्पेनिस ला लिगामा रियलविरुद्ध कुनै पनि खेलाडीले चार गोल गरेको यो ७५ वर्षमा पहिलो पटक हो।

गए राति भएको खेलमा १२ औं र २४ औं मिनेटमा कास्टेलानोसले लगातार दुई गोल गर्दा रियल सुरुवातमा नै २-० ले पछि परेको थियो।

यसपछि ३४ औं मिनेटमा भिनिसियसले रियलको लागि एक गोल फर्काए। तर दोस्रो हाफमा कास्टेलानोस पुनः चम्किए।

४६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका उनले ६२ औं मिनेटमा व्यक्तिगत चौथो गोल गरेका थिए।

खेलको ८५ औं मिनेटमा लुकास भास्क्वेजले रियलका लागि एक गोल गरे पनि खेलमा फर्कन पर्याप्त भएन।

यो हारसँगै रियल म्याड्रिडको यस सिजनको लिग उपाधि जित्ने सम्भावना निकै कमजोर बनेको छ।

लिग लिडर बार्सिलोनाको ३० खेलबाट ७६ अंक छ भने रियलभन्दा एक खेल कम खेलेको उसले ११ अंकको अग्रता बनाएको छ। 

रियलको ३१ खेलबाट ६५ अंक छ भने अब लिगमा उसले मात्र ७ खेल खेल्न बाँकी छ।

वैशाख १३, २०८० बुधबार ०७:४४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।