मध्यरात काठमाडौँको आकाशमा टर्यो भयानक दुर्घटना, विमान सकुशल रहेको फ्लाई दुबइको जानकारी

काठमाडौँ : काठमाडौँबाट दुबइका लागि उडेको फ्लाइ दुबइको विमान नेपाली आकाशमै दुर्घटना हुनबाट जोगिएको छ। त्रिभुवन विमानस्थलबाट उडेको विमानको इन्जिनमा आगो लागेको थियो।
फ्लाइ दुबइको एफजेड ५६७ को इन्जिनमा आगो लागेपछि आपत्कालीन अवतरणको तयारी गरियो। विमान काभ्रेको आकाशमा चक्कर लगाएर बस्यो।
यता विमानस्थलमा आकस्मिक अवतरणको तयारीकै क्रममा विमान ठिकठाक रहेको भन्दै नियमित गन्तव्यमै उड्ने जानकारी आयो र विमानले नियमित हवाई मार्ग समात्यो।
दुबई मिडिया अफिसको तर्फबाट आधिकारिक फेसबुक पेजमा राखिएको जानकारी अनुसार काठमाडौँको विमानस्थलबाट विमान उड्नेक्रममा विमानमा चरा ठोक्किएको थियो।
आगो देखिएपछि आन्तरिक चेकजाँचपछि विमान सकुशल दुबईका लागि उडिरहेको र विमान दुबई इन्टरनेसनल विमानस्थलमा स्थानीय समय अनुसार १२:१४ मा अवतरण हुने उल्लेख छ।
त्रिभुवन विमानस्थलबाट साढे नौ बजेतिर उडेको विमानमा एक सय ६२ जना यात्रु सवार थिए।
वैशाख ११, २०८० सोमबार २३:४५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।