कम्पनीमार्फत मात्र घर-जग्गा कारोबार गर्न पाउने नीति बनाउन व्यवसायी सक्रिय, भेटे प्रधानमन्त्री

काठमाडौँ : सरकारले रोकिएको कित्ताकाट खुला गरेसँगै उत्साहित घरजग्गा कारोबारीहरू व्यक्तिगत किनबेचको साटो संस्थागत कारोबारको नीति बनाउन सक्रिय भएका छन्।
उनीहरूले संस्थागत रूपमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर घरजग्गाको कारोबार संस्थागत रूपमा मात्र गर्न पाउने नीति बनाउन पहल गरेका हुन्।
नेपाल जग्गा तथा आवास विकास महासङ्घको टोलीले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर घरजग्गाको कारोबार कम्पनीमार्फत मात्रै गर्ने व्यवस्था लागू गर्न माग गरेका थिए।
महासङ्घका अध्यक्ष भेषराज लोहनीको नेतृत्वमा गएको टोलीले रियल स्टेट कम्पनीहरूले मात्र घर जग्गाको व्यावसायिक कारोबार गर्न पाउने व्यवस्था गर्न सुझाव दिएका थिए।
उनीहरूले घरजग्गा कारोबार गर्ने कम्पनीहरूलाई सूचीकृत गर्ने, दर्ता भएका ब्रोकरहरू मार्फत मात्र घरजग्गा खरिद बिक्री गर्ने कानुनी व्यवस्था गरिदिन आग्रह गरेका थिए।
बजेट वक्तव्यलेेेेेेेेेेेेेेे १०० भन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत अपार्टमेन्ट विदेशीले खरिद गर्न पाउने नीति बनाएको तर कार्यान्वयन गर्न आवश्यक कानुनी व्यवस्था नभएको भन्दै टोलीले आवश्यक कानुन बनाउन समेत माग गरे।
प्लानिङ पर्मिट प्राप्त रियल इस्टेट कम्पनीहरूलाई सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य, समन्वय तथा साझेदारीमा जग्गा पुलिङ तथा आवास पुलिङ मार्फत जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने महासङ्घले माग गरेको छ।
महासङ्घले भू उपयोग सम्बन्धी कानुनहरूको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाटलाई साबिक बमोजिम नै सहजीकरण गर्न समेत आग्रह गरेका थिए।
वैशाख ११, २०८० सोमबार १८:२४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।