निजी स्टक एक्सचेन्ज पाउन घराना उद्योगी र मिडिया सञ्चालकबीच प्रतिस्पर्धा, शंकर समूह एकातिर,सिद्धार्थ र अग्नि अर्कोतिर

निजी स्टक एक्सचेन्ज पाउन घराना उद्योगी र मिडिया सञ्चालकबीच प्रतिस्पर्धा, शंकर समूह एकातिर,सिद्धार्थ र अग्नि अर्कोतिर

काठमाडौँ : नयाँ स्टक एक्सचेन्जको आवेदन मिति सकिने आइतबारसम्म तीन कम्पनीको आवेदन परेको छ। शुक्रवारै हिमालयन स्टक एक्सचेन्जले आवेदन दिएको थियो। आइतबार  नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले समेत आवेदन दिए।

तीन वटा आवेदन परे पनि एक कम्पनीले मात्र अनुमति पाउने भएकाले आवेदनसँगै आन्तरिक शक्ति सङ्घर्ष चल्ने देखिन्छ। नेपालमा अहिले एउटा मात्र स्टक एक्सचेन्ज कम्पनी रहेको छ। त्यसमा सरकारी स्वामित्व रहेको छ।

अनुमति पाउने नयाँ कम्पनी निजी क्षेत्रको मात्र लगानीको हुने भएकाले समेत उद्योगी र व्यापारीहरूमाझ अनुमति पाउन प्रतिस्पर्धा सुरु भएको हो।

जानकारका अनुसार हिमालयनमै अधिकांश उद्यमीहरुसँग समेटिन चाहन्थे। तर हिमालयनको अधिकांश सेयर होल्डर्सहरुको असहमतिमा छुटेकाहरूले आइतबार आफ्नै कम्पनीबाट अनुमति पाउन आवेदन दिए।  

हिमालयन स्टक एक्सचेन्जमा शङ्कर समूह मुख्य लगानीकर्ता हो। त्यसमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष पशुपति मुरारका, शेखर गोल्छा र भवानी राणा समेत छन्।

यसै गरी लामो समयदेखि निष्क्रिय देखिएका राजेन्द्र खेतानसमेत त्यसमा जोडिएका छन्। अन्यमा सौरभ ज्योति, अमित मोर, आशिष श्रेष्ठ, जुनी गुरुङ, दीपक भट्ट लगायतका छन्।

हिमालयनमै सहभागी हुन इच्छुक गैर आवासीय नेपाली सङ्घका उपेन्द्र महतो अटेनन्। कान्तिपुर टेलिभिजनका समेत लगानीकर्ता रहेका उनले आफ्ना सहयोगी जीवा लामिछानेसहितको समूह मिलाएर नेशनल स्टक एक्सचेन्जको नाममा आवेदन दिए आइतबार।

सो एक्सचेन्जमा सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रियलायन्स ग्रुप अनि दीपक तिमिल्सिना लगायतका रहेका छन्।

तेस्रो कम्पनी अन्नपूर्ण स्टक एक्सचेन्जमा अन्नपूर्ण दैनिकका अध्यक्ष रामेश्वर थापाको लगानी रहेको बताइन्छ। कम्पनीमा गणेश कुमार श्रेष्ठ, अनिल सापकोटा, सुरेन्दराज वाग्ले, प्रकाश कुमार श्रेष्ठ, मुक्तिबोध न्यौपाने, शेखर सुवेदी र बलराम उप्रेती लगानीकर्ता रहेका छन्।

वैशाख १०, २०८० आइतबार २०:२५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।