राजस्थानलाई बेंग्लोरको १९० रनको लक्ष्य, विराट पहिलो बलमै आउट

काठमाडौँः इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले राजस्थान रोयल्स (आरआर) लाई १ सय ९० रनको लक्ष्य दिएको छ।
चिन्नास्वामी रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बेंग्लोरले पूरा ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाउन सक्यो।
ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसको अर्धशतकीय इनिङ्सका कारण बैंग्लोरले इन्डियन प्रिमियर लिग-१६ को ३२औं खेलमा राजस्थानलाई सम्मानजनक लक्ष्य प्रस्तुत गरेको हो।
बैंगलोरको सुरुवात भने राम्रो हुन सकेन। विराट कोहली पहिलो बलमै ट्रेन्ट बोल्टको शिकार भए ।
त्यसपछि टोलीले १२ रनमा शाहबाज अहमदको विकेट गुमाएको थियो। यहाँबाट ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसले शतकीय साझेदारी गर्दै टोलीको स्कोर १३५ रनमा पुर्याएका थिए । यहाँ पनि कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।
राजस्थानका ट्रेन्ट बोल्ट र सन्दीप शर्माले २-२ विकेट लिए । रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक-एक विकेट लिए।
फाफ डु प्लेसिस ६२ रन बनाएर आउट भए । उनलाई यशस्वी जैसवालले रनआउट गरे । उनले ३९ बलमा १५८.९७ को स्ट्राइक रेटमा ६२ रन बनाए ।
डुप्लेसिसले ८ चौका र २ छक्का बनाए। योसँगै उनले आईपीएल करिअरमा आफ्नो ३० औं अर्धशतक पनि पूरा गरे। चालू सिजनमा उनको यो पाँचौं अर्धशतक हो।
त्यस्तै ग्लेल म्याक्सवेलले ७७ रनको योगदान दिए। म्याक्सवेल र प्लेसिसबीच ६६ बलमा १२७ रनको शतकीय साझेदारी बन्यो। म्याक्सवेलले आफ्नो करिअरको १६ औं अर्धशतक पनि पूरा गरे।
वैशाख १०, २०८० आइतबार १७:५८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।