नयाँ स्टक पाउन व्यापारिक घरानादेखि एनआरएन र मिडिया सञ्चालकबिच प्रतिस्पर्धा, आवेदन सङ्ख्या चार पुग्यो

काठमाडौँ : नयाँ स्टक एक्सचेन्जका लागि उद्योगी, एनआरएनका नेता र मिडिया सञ्चालकहरुविच प्रतिस्पर्धा हुने भएको छ। आइतबार अन्तिम दिन एक मात्र कम्पनीका लागि तीन कम्पनीको आवेदन पर्यो। आवेदन दिनेमा परिचित उद्योगीदेखि गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षहरू र मिडिया सञ्चालक समेत छन्।
आइतबार नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन पर्यो। यस अगाडि शुक्रवारै हिमालयन स्टक एक्सचेन्जको आवेदन परिसकेको छ।
नेशनल स्टक एक्सचेन्जमा गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्षहरू उपेन्द्र महतो, जीवा लामिछानेसहित वर्तमान अध्यक्षद्वय बद्री केसी र कुल आचार्यसहित सिद्धार्थ समूह र अग्नि समूह छन्। नयाँ सञ्चालकमा दीपक तिमिल्सिना, महेश कुमार श्रेष्ठ, ऋषि अग्रवाल, अङ्कित केडिया छन्। उपेन्द्र र जीवा कान्तिपुर टेलिभिजनसँग समेत आबद्ध छन्।
अन्नपूर्णमा स्टकमा अन्नपूर्ण पोस्टका अध्यक्ष तथा हेलिकोप्टर कम्पनीका सञ्चालक रामेश्वर थापासहित प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक नारायण पौडेल छन्।
शुक्रवार आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षहरू पशुपति मुरारका, भवानी राणा, शेखर गोल्छासहित हिमालयन रिइन्स्योरेन्स कम्पनीका सञ्चालकहरूको प्रमुख स्वामित्व छ।
नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न धितोपत्र बोर्डमा आवेदन दिने आइतबार अन्तिम दिन हो। आवेदकमध्ये एक जनालाई बोर्डले अनुमति दिने हो।
अहिले एउटा मात्रै स्टक एक्सचेन्ज छ। अर्को एक्सचेन्जका लागि अनुमति दिने सरकारी तयारीकै क्रममा सर्वोच्च अदालतमा रिट परेको थियो। सर्वोच्च अदालतले रिट खारेज गरेपछि आवेदन खुलेको थियो।
वैशाख १०, २०८० आइतबार १७:४८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।