चितवन-२, तनहुँ-१ र बारा-२ मा आज उपनिर्वाचन

चितवन-२, तनहुँ-१ र बारा-२ मा आज उपनिर्वाचन

काठमाडौं : आज तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन भइरहेको छ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ। उपनिर्वाचनलाई सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगले तयारी गरेको बताइएको छ।

तनहुँ–१ मा विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति, बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति र चितवन–२ बाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चको आदेशपछि यी स्थान रिक्त थिए।

त्यसैले यी क्षेत्रबाट उपनिर्वाचन मार्फत नयाँ प्रतिनिधिसभा सदस्य चयन गरिन लागेको हो। तीनै निर्वाचन क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाइएको आयोगले जनाएको छ।

चितवन-२ मा यसअघि चुनाव जितेर गृहमन्त्री समेत बनेका रास्वपा सभापति रवि लामिछाने पुनः उठेका छन्। नागरिकता विवादमा उनको सांसद पद गुमेको थियो।

रविसँगै एमालेबाट रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ लगायतले यहाँ उम्मेदवारी दिएका छन्।

तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले लगायतबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

उता बारा-२ मा एमालेबाट पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनको सहयोगमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल लगायतको उम्मेदवारी परेको छ।

वैशाख १०, २०८० आइतबार ०७:२२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।