अर्शदीपको बल झेल्न नसक्दा पन्जाबसँग हार्यो मुम्बई, चार विकेट खातामा

काठमाडौँ : पन्जाब किङग्सका बलर अर्शदीप सिंहको घातक बलिङका अगाडि मुम्बई इन्डियन्सका ब्याट्सम्यान टिक्न नसक्दा इन्डियन प्रिमियर लिग २०२३ को ३१ औँ खेल गुमायो।
मुम्बई इन्डियन्स पन्जाबसँग १३ रनले हार्यो। २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १ रनमै समेटियो।
मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा १६ रन चाहिएको थियो।
तर तीव्र गतिका बलर अर्शदीपले लक्ष्य पूरा हुन दिएनन्। सिंहले अन्तिम ओभरमा दुई रन खर्चेर २ विकेट लिएपछि पन्जाबको जित निश्चित भयो।
अर्शदीपको पहिलो बलमा टिम डेविडले एक रन बटुलेका थिए।दोस्रो बल तिलक बर्मालाई डट राखे। तेस्रो बलमा बर्मा बोल्ड आउट भए।
अर्शदीको लेन्थ बलमा मिडल स्टम्पनै भाँचिएको थियो। चौथो बलमा नेहाल वधेरा पनि बोल्ड आउट भए। पुन मिडल स्टम्प भाँचियो।
पाँचौँ बल जोफ्रा आर्चरलाई डट राखे। अन्तिम बलमा एक रन गए पनि जित पक्का गराए।
मुम्बईका अलराउन्डर क्यामरन ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६७ रन बनाए। सूर्यकुमार यादव २६ बलमा ७ चौका र ३ छक्कासहित ५७ रन जोडे। तर उनीहरूको प्रयासले टिमले जित्न सकेन।
टिम डेविड १३ बलमा २ छक्कासहित २५ रनमा नटआउट रहे।
मुम्बईका ओपनर ईशान किशन तीव्र गतिका बलर अर्शदीपको दोस्रो ओभरको पहिलो बलमै म्याथ्यु शर्टबाट क्याच आउट भएका थिए।
दोस्रो विकेटका लागि कप्तान रोहित शर्मा र क्यामरन ग्रीनले ७६ रनको साझेदारी गरे। रोहित २७ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा आउट भएका थिए।
तेस्रो विकेटका लागि रोहित शर्मा र क्यामरन ग्रीनले ३६ बलमा ७५ रनको साझेदारी गरे।
अर्शदीपको १८ औँ ओभरको चौथो बलमा सूर्य मिडविकेटमा क्याच आउट भए।
अर्शदीप सिंहले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। नाथन एलिस र लियाम लिभिङस्टोनले समान एक विकेट लिए।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो।
साम करनले २९ बलमा ५ चौका र ४ छक्कासहित ५५ रन बनाए।साम करनको उत्कृष्ट ब्याटिङको सहयोगमा पन्जाबले विशाल योगफल बनायो। उनी जोफ्रा आर्चरको १९ औँ ओभरको अन्तिम बलमा कट एण्ड बोल्ड आउट भए।
ओपनर म्याथ्यु शर्ट११ रनमा आउट भए। अर्का ओपनर प्रभसिमरन सिंह १७ बलमा १ चौका र २ छक्कासहित २६ रन बनाउँदै आउट भए।
लियाम लिभिङस्टोन १२ बलमा १ छक्कासहित १० रनमा आउट भए।अथर्व टैडे १७ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए।
पन्जाबलाई साम करन र हरप्रीत सिंह भाटियाले पाँचौँ विकेटका लागि ५० बलमा ९२ रनको साझेदारी गर्दै खेलमा फर्काए ।
हरप्रीत सिंह भाटिया २८ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमाआउट भए। युवा विकेटकिपर जितेश शर्माले ७ बलमा ४ छक्कासहित २५ रनको विस्फोटक इनिङ खेल्दै उत्कृष्ट अन्त्य गरे।
मुम्बईका पीयूष चवालाले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए। क्यामरन ग्रीनले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए। अर्जुन तेन्दुलकर, जेसन बेहरेनडोर्फ र जोफ्रा आर्चरले समान एक विकेट लिए।
वैशाख १०, २०८० आइतबार ००:१७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।