बहराइनमाथि कुवेतको दुई विकेटको जित

बहराइनमाथि कुवेतको दुई विकेटको जित

काठमाडौं : कुवेतले एसीसी प्रिमियर कपमा बहराइनमाथि दुई विकेटको जित निकालेको छ।

जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले ४४.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।

कुवेतको जितमा युवा खेलाडी यासिन पटेल ६३ र सैयद मोनिब ५ रनमा अविजित रहे। युवा खेलाडी मिट भावसारले ५९ बलमा ५ चौकासहित ५४ रनमा आउट भए।

अदनान इद्रिसले ४६ बलमा ११ चौकासहित ५६, उस्मान पटेल १८, राजिवा सानदुरुवन ८ र मोहम्मद अस्लामले १४ रन बनाए। 

बहराइनका अब्दुल मजिदले ९ ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ३ विकेट लिए। अली डावुड, रिजवान बट, इमरान अनवार र सोहिल अहमदले एक एक विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो।

बहराइनका तल्लोक्रमका इमरान अनवारले १९ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिएका थिए।

फैज अहमद ५४ बलमा ४ चौका र २ छक्कासहित ४८ रनमा आउट भए। कप्तान हैदर अली ३४, जुनैद अजिज ३६ र सोहिल अहमद ३४ रनमा आउट भए। रिजवान बट ७ बलमा १ चौका र २ छक्कासहित १९ रनमा आउट भए।

कुवेतका सैयद मोनिबले १० ओभरमा १ मेडनसहित ६९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। शाहरुख क्वुदुसले दुई विकेट लिए।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन्। समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन्। 

कुवेत पहिलो खेलमा युएईसँग १ सय ४३ रनले पराजित भएको थियो। कुवेतले अव मंगलबार सिंगापुर र बिहीबार हङकङसँग खेल्नेछ।

उता बहराइनले पहिलो खेलमा सिंगापुरलाई १ सय ३२ रनले हराएको थियो। बहराइनले अव सोमबार हङकङ र बुधबार युएईसँग खेल्नेछ।

हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

वैशाख ९, २०८० शनिबार १७:२७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।