‘स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ’ भनेपछि कम्पनीको आपत्ति

‘स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ’ भनेपछि कम्पनीको आपत्ति

काठमाडौं : ललितपुरको डीएभी सुशील केडिया विश्व भारती विद्यालयले आफूलाई जोडेर अभिव्यक्ति दिएपछि राइड शेयरिङ कम्पनी पठाओले आपत्ति जनाएको छ।

कम्पनीले विज्ञप्ति निकालेर कम्पनीले विद्यालयका शिक्षकबाटै पठाओको नाम जोडेर नकारात्मक अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएको हो।

तीन दिनअघि चलचित्र निर्देशक उपेन्द्र सुब्बाले आफ्नी छोरी पढाइमा कमजोर भएको कुरालाई लिएर डीएभीका शिक्षकले दिएको नकारात्मक अभिव्यक्ति फेसबुकमार्फत शेयर गरेका थिए।

‘पहिला पनि जोशी सरले ‘पढेर केही गरी खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने’ भन्दै आमा छोरी दुवै मसँग रोए,’ उनले लेखेका छन्।

पठाओले सबै पेशालाई सम्मान गर्न सिकाउनुपर्ने शिक्षकहरूबाटै यस्तो किसिमको अभिव्यक्ति आउनु अत्यन्तै दुःखद् रहेको उल्लेख गरेको छ।

साथै केही गर्न नसकेपछि पठाओ चलाउनेभन्दा पनि विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरूले आफ्नो अनुकूलको समयमा पठाओलाई अतिरिक्त आम्दानीको माध्यम  बनाइरहेको कम्पनीको भनाइ छ।

त्यसैगरी कम्पनीका प्रबन्ध निर्देशन असीममानसिंह बस्नेतले जनजीविकालाई सहज बनाउँदै आवतजावतमा समेत सहजता प्रदान गर्न आफ्ना क्याप्टेन, राइडर र फुडम्यानहरूको संलग्नताप्रति गर्व गर्ने बताए।

वैशाख ९, २०८० शनिबार १६:४०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।