अर्थ नीतिमा अलमलिएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने'सरकार र निजी क्षेत्रबिच साझा धारणा बनाउन आवश्यक'

अर्थ नीतिमा अलमलिएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने'सरकार र निजी क्षेत्रबिच साझा धारणा बनाउन आवश्यक'

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र उकास्न सरकार र निजी क्षेत्रबीच साझा धारणा बनाउन आवश्यक रहेको बताएका छन्।

शनिबार गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा उनले देशैपिच्छे अलग अर्थ नीति हुने र नेपालको पनि आफ्नै मौलिक अर्थ नीति रहेको बताए।

प्रधानमन्त्रीले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्त्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह समेत गरे।

‘हामीले विश्व पढ्नै पर्छ, विश्वका अनुभव र दृष्टान्तहरू पनि पढ्नुपर्छ। तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्छ। हाम्रो अर्थ राजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ' उनले भने।

उनले नेपालमा विदेशी भन्ने बित्तिकै राम्रो अनि नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता देखिने गरेको र  यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, सम्बृद्धि र स्वाधीनतालाई सहयोग नगर्ने बताए।

विश्वका मोडल र अनुभवहरू पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोही अनुरूप नीतिहरू तय गर्न उनले जोड दिए।

अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आ–आफ्नै मोडेल भएको बताउँदै प्रचण्डले नेपालको अर्थ राजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक रहेको बताए।

'हामी कुन बाटो जाने त्यो महत्त्वपूर्ण हो। यसमा धेरैजसो मान्छेहरू अलमलिएको देख्छु। हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेको छ, यो विश्वका अरू मोडेलसँग हुबहु मिल्दैन,’ उनले भने।

वैशाख ९, २०८० शनिबार १४:०७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।