चितवनमा उपनिर्वाचनको तयारी तीब्र, मदिरा बिक्री वितरणमा रोक

चितवन : चितवन क्षेत्र नम्बर २ मा भोलि (आइतबार) हुने उपनिर्वाचनलाई लक्षित गर्दै निर्वाचन हुने क्षेत्रभित्र मदिरा बिक्री वितरणका लागि रोक लगाइएको छ।
यही वैशाख ७ गते रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरणमा रोग लगाइएको हो। जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सो क्षेत्रभित्र मदिरा बिक्री वितरणमा रोक लगाएको हो।
त्यसैगरी उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।
तयारी स्वरूप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्। उनीहरुले मतदानस्थल निर्माण, चार किल्ला तोक्ने र राजनीतिक दलहरुसँग छलफल गर्ने लगायतका काम सम्पन्न गरिसकेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका ४३ स्थलका एक सय ३८ केन्द्रमा ६ सय ९० कर्मचारी खटिएका हुन्।
उनीहरुसँगै सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ। यस क्षेत्रमा एक लाख २४ हजार ६ सय ९५ मतदाता रहेका छन्। तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन्।
यस्तै निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
निर्वाचन आयोगद्वारा जारी भएको मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ बमोजिम अत्यावश्यक एम्बुलेन्स, दमकललगायतका सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।
वैशाख ९, २०८० शनिबार ११:४७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।